४ जेठ, २०८१ शुक्रबार

09:23:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भोकले मर्ने दिन नआओस्...

२२ पुस, २०७८

भोकले मर्ने दिन नआओस्...

२१ पुस । मुलुकमा विगतमा पहिलो र दोस्रो लहरको कोरोनाको महामारी फैलियो । त्यो बेला रोगकोभन्दा भोकको चिन्ता थियो । मानिसहरु भोकै बस्न बाध्य भएपछि सरकार तथा संघसंस्थाले राहत बाँडेका थिए भने दैनिक भोजन कार्यक्रम नै गरिएको थियो ।

असंगठित क्षेत्रका मजदुर साह्रै प्रभावित भएका थिए । ज्याला मजदुरी गरेर खाने मजदुरलाई पनि त्यस्तै अबस्था आएको थियो । प्राकृतिक विपत्ती आउँदा पनि त्यस्तै अबस्था बेलाबेलामा हुने गरेको छ । त्यसैले मोरङका नागरिकले त्यसतर्फ सचेत गराउँदै रोगले होइन भोकले मर्ने दिन नआओस् भनेर स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । अब तयही अबस्था नदोहोरियोस् भनेर सचेत पनि गराएका छन् । 

तराईमा बढ्दै गएको चिसो र शीतलहरको प्रभाव तथा ओमिक्रोन भाइरसका कारण यस्तो अबस्था आउन नदिन सचेत हुनुपर्नेमा जोड

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको मोरङको विहिबार बसेको बैठकमा सहभागीले गएको कात्तिक महिनामा आएको बैमौसमी वर्षा र बाढीबाट भएको किसानको धानबाली नष्ट भए पनि राहत नपाएको गुनासो गरेका छन् ।  तराईमा बढ्दै गएको चिसो र शीतलहरको प्रभाव तथा ओमिक्रोन भाइरसका कारण यस्तो अबस्था आउन नदिन उनीहरुले ध्यानाकर्षण गराएका छन् ।  

आमनागरिकलाई बच्न र बचाउन के के उपाय अपनाउन सकिन्छ भन्ने धारणा बुझ्न र राहत वितरण गर्ने उद्देश्यले आयोजित सो बैठकमा उद्योगी व्यापारी, स्थानीय पालिका प्रतिनिधि, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, जनस्वास्थ्य प्रमुख, कोशी अस्पतालका प्रमुखको सहभागिता  थियो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून सचिव कालीप्रसाद पराजुलीले विपद् न्यूनीकरणमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको जानकारी दिँदै सरकारले विपद्मा परेका नागरिकलाई उद्धार, राहत वितरणमा चासोको साथ काम गरिरहेको छ भन्नुभयो । विपद्मा अग्रभागमा काम गर्ने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ७० जनालाई विपद् पूर्वअभ्यास तालिम दिएको र सो तालिम स्थानीय पालिकाका नगर रक्षक एवं अगुवा नागरिकलाई पनि दिन आवश्यक छ भन्नुुभयो ।

प्रजिअ दाहालले कोरोना भाइरसबाट आमनागरिकलाई जोगाउन नेपाल भारतको वैध सीमाबाट मात्र नागरिक ओहोरदोहोर गराउने जानकारी दिँदै विपद् व्यवस्थापन कोषमा अहिले रु एक करोड १० लाख, एक हजार कम्बल रहेकाले रोग र भोकबाट जोगाउने आश्वासन दिनुभयो ।

उहाँले जिल्लामा विपद्मा परेका, गरिब एवं विपन्न परिवारमा न्यानोका लागि एक/एक थान कम्बल बाँड्ने र यसका लागि स्थानीय पालिकालाई लक्षित वर्गको सूची तत्काल पठाउन निर्देशन दिनुभयो । अहिले रतुवामाई नगरपालिका, जहदा गाउँपालिका, कटहरी र विराटनगर महानगरपालिकाबाट अति प्रभावित क्षेत्रका नागरिकका लागि कम्बल माग भइआएको प्रजिअ दाहालले बताउनुभयो ।

स्थानीय प्रशासनले मानिसलाई चिसोबाट जोगाउन कम्बल बाँड्ने र प्रभावित समुदायलाई निःशुल्क मुढा र दाउरा उपलब्ध गराउने तयारी गरेको छ 

उहाँले आगामी दुई दिनभित्र विवरण सङ्कलन गरेर कम्बल बाँड्ने भन्दै जिल्ला वन कार्यालयले त्यस्ता वर्गलाई निःशुल्क मुढा र दाउरा उपलब्ध गराउने भएकोले जनप्रतिनिधिले चासोका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले नागरिकको ज्यानको सुरक्षा गर्न राज्यको दायित्व पनि भएकाले सीमा क्षेत्रका हेल्प डेस्कले ट्रेसिङ, टेस्ट र ट्रिटमेन्ट कार्यलाई एक साथ अघि बढाउनु पर्ने सुझाव दिनुभयो ।

कोशी अस्पतालका प्रमुख डा चुमनलाल दासले कोरोनाले नकारात्मकभन्दा पनि सकारात्मक हुन पनि सिकाएकाले यसैका लागि नागरिकले अपनाएको स्वास्थ्य सुरक्षा मापदण्डबाट डाइरिया र स्वासप्रस्वासको रोगी घटेको जानकारी दिनुभयो ।

उहाँले हात धुने र मास्क लगाउने बानीका कारण नागरिकको स्वास्थ्यमा सुधार आएको बताउँदै कोशी अस्पतालमा छ वटाबाट १२ वटा आइसियु बनाएको र कुनैमा पनि बिरामी खाली नरहेको जानकारी दिनुभयो । जनस्वास्थ्य प्रमुख डा सुरेश मेहताले खोपको कुनै समस्या नरहेको भन्दै सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था छ र यसकालागि स्थानीय पालिकाहरुले समन्वय गर्न आग्रह गर्नुभयो ।