५ असोज, २०८१ शनिबार

07:16:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

'सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आनाकानी गर्ने प्रवृति अस्वीकार्य'

Nepal Business

२२ पुस, २०७८

'सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आनाकानी गर्ने प्रवृति अस्वीकार्य'

२१ पुस, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै रोजगारदाता र श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन आग्रह गर्नुभएको छ ।
 
        संयुक्त ट्रेड  युनियन समन्वय केन्द्र (जेटियुसिसी)को पाँचौं श्रम संसदलाई विहिबार सम्बोधन गर्दै उहाँले स्वरोजगार, अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराउने तयारी भइरहेको बताउनुभयो ।
 
        “अब सबै प्रतिष्ठान र श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आवश्यक छ”, मन्त्री श्रेष्ठले भन्नुभयो, “यसमा सबै श्रमिक र रोजगारदाताको सहयोग र अग्रसरताको अपेक्षा सरकारले गरेको छ ।” श्रम कानुन कार्यान्वयन गर्दा आफूलाई फाइदा हुने विषयमा लाभ लिइहाल्ने तर दायित्वबाट पन्छिने प्रवृति पनि देखिन थालेको मन्त्री श्रेष्ठको भनाइ थियो । “श्रम ऐनको दफा ४५ लाई देखाएर श्रमिकलाई रोजगारीबाट हटाउने तर सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने विषयमा आनाकानी गर्ने प्रवृति अस्वीकार्य छ”, उहाँले भन्नुभयो ।
 
       श्रम प्रशासनलाई प्रभावकारी बनाउने, श्रम अडिट, कारखाना निरीक्षण, सेवा प्रवाहमा सरलता ल्याउने प्रभावकारी रुपमा काम अघि बढाएको भन्दै उहाँले श्रम तथा रोजगार कार्यालयलाई स्रोत साधनको कमि हुन नदिइने प्रतिबद्धता जनाउनुभयो ।
 
        वैदेशिक रोजगारीलाई सरल, सहज बनाउने र विकृतिको अन्त्य गर्न सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाउन लागिपरेको उहाँले बताउनुभयो । सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउने दिशातर्फ  काम अघि बढिसकेको मन्त्री श्रेष्ठले बताउनुभयो ।