८ मंसिर, २०८१ शनिबार
07:30:25 AM
४ असार, २०७९
निरन्तर घटेर २ हजार विन्दुमुनी झरेको नेप्से अब कता जाला भन्ने अन्योलता लगानीकर्तामा देखिएको छ ।
काठमाण्डौं । पछिल्ला दिनहरुका लगातार घटिरहेको सेयर बजारबाट लगानीकर्ताहरुले यस साता १ खर्ब ६ अर्ब ८९ करोड ३८ लाख गुमाएका छन् । अघिल्लो साताको अन्तिम कारोबार २९ खर्ब १७ अर्ब ५९ करोड रहेको कुल बजारपूँजीकरण यो साता २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाखमा सीमित हुन पुग्यो ।
यस साता नेप्से परिसूचक गत साताको तुलनामा ७६.७८ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ४८.१६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १ हजार ९७१.३८ विन्दुमा झरेको हो । साताको पाँच कारोबार दिनमा यो साता नेप्से परिसूचक एक कारोबार दिन मात्र बढेको छ भने चार कारोबार दिन घटेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार २९ खर्ब १७ अर्ब ५९ करोड रहेको कुल बजारपूँजीकरण यो साता २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाखमा सीमित हुन पुग्यो ।
साताको पहिलो कारोबार दिन १५.८२ अंक घटेको बजार दोस्रो दिन ३६.८ अंकले घटेको थियो । त्यस्तै तेस्रो कारोबार दिन २९.८९ अंकले घटेको बजार चौथो कारोबार दिन १२.५७ अंकले बढेको थियो । साताको अन्तिम कारोबार दिन भने नेप्से परिसूचक ७.५६ अंकले घटेर बन्द भएको हो ।
अघिल्लो वर्षको भदौ २ गते ३ हजार २ सय विन्दु पार गरेको नेप्से पछिल्लो समय २ हजार विन्दुमुनि झरेको हो । पछिल्लो समय राष्ट्र बैंकको नयाँ नीतिगत व्यवस्थाका कारण नेप्से परिसूचक निरन्तर घटेको भन्दै आम लगानीकर्ता उक्त नीति परिवर्तनको माग गर्दै आन्दोलनरत् रहेका छन् । उनीहरूले विशेष गरी शेयर धितोकर्जामा लगाएको ४ करोडदेखि १२ करोडको सीमा हटाउँन माग गरेका छन् ।
राष्ट्र बैंकले साना लगानीकर्ताहरूको हितका लागि लागू गरेको उक्त व्यवस्थाले साना लगानीकर्ताहरूनै मारमा परेको गुनासो लगानीकर्ताहरूले गरेका छन् । निरन्तर घटेर २ हजार विन्दुमुनी झरेको नेप्से अब कता जाला भन्ने अन्योलता लगानीकर्तामा देखिएको छ ।
यस साता कारोबार रकम पनि अघिल्लो साताको तुलनामा ९९ करोड ३९ लाख २६ हजारले घटेको छ । अघिल्लो साता ६ अर्ब ५९ करोड ३३ लाखभन्दा बढीको २ करोड ५ लाख ५ हजार १९५ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ५ अर्ब ५९ करोड ९४ लाख ३६ हजार बराबरको १ करोड ७१ लाख ९९ हजार ९२४ कित्ता धितोपत्र खरीदविक्री भएको हो ।
लगानीकर्ताहरुले विशेष गरी शेयर धितोकर्जामा लगाएको ४ करोडदेखि १२ करोडको सीमा हटाउँन माग गरेका छन् ।
यस सातामा लगानी समूहका लगानीकर्ताहरूले अधिक गुमाएका छन् । अघिल्लो हप्ताको तुलनामा यो साता सबै समूहगत उपसूचकहरू घटेका छन् । जसमध्ये लगानी समूहको उपसूचक सर्वाधिक ५.९८ प्रतिशत घटेको हो ।
यसैगरी जलविद्युत समूहको ५.६४ प्रतिशत, व्यापारिक समूहको ५.५७ प्रतिशत, निर्जीवन बीमा समूहको ५.४५ प्रतिशत, जीवन बीमा समूहको ५.२४ प्रतिशत उपसूचक घटेको छ ।
यसै हप्ता वित्त समूहको ४.८१ प्रतिशत, विकास बैंक समूहको ३.९२ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ३.७४ प्रतिशत, लघुवित्त समूहको ३.१० प्रतिशत, बैंकिङ समूहको २.८२ प्रतिशत, अन्य समूहको १.६८ प्रतिशत र म्युचुअल फण्ड समूहको १.५६ प्रतिशत उपसूचक घटेको हो ।