२३ बैशाख, २०८१ आइतबार

02:23:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घट्दै घरजग्गाको कारोबार, जेठ महिनामा चार अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन

१ असार, २०७९

वैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट करिब ९९ हजार सेवा प्रवाह हुँदा ४४ हजार ८०३ घरजग्गा किनबेच भएको तथ्याङ्कले उल्लेख छ ।

घट्दै घरजग्गाको कारोबार, जेठ महिनामा चार अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार घट्दै गहिरहेको छ । महिनामा ७० हजार बराबरको कारोबार हुँदै आएको घरजग्गा कारोबार वैशाख र जेठमा भने निरन्तर घटेको छ ।  कोरोना संक्रमणको समयमा र तरलताको चरम अभावमा समेत नघटेको घरजग्गाको कारोबार अहिले वैशाख र जेठमा घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा हालसम्मकै कम घरजग्गाको कारोबार भएको थियो । त्यस्तै, अहिले जेठ महिनामा केही मात्राले घरजग्गाको कारोबार बढेपनि अन्य महिनाको तुलनामा निकै कम रहेको छ ।

गत चैतमा करिब ७१ हजारको हाराहारी किनबेच भएको घरजग्गा वैशाखमा भने ४४ हजारमा सिमित भएको थियो । वैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट करिब ९९ हजार सेवा प्रवाह हुँदा ४४ हजार ८०३ घरजग्गा किनबेच भएको तथ्याङ्कले उल्लेख छ ।

त्यस्तै, जेठमा महिना देशभरका मालपोत कार्यालयबाट ५४ हजार ५१४ घरजग्गा किनबेच भएको छ । सो अवधिमा १ लाख २३ हजार ६५२ वटा सेवा प्रवाह भएको थियो । जेठ महिनामा देशभरका मालपोत कार्यालयबाट ५४ हजार ५१४ लिखत पारित हुँदा ३ हजार ५८४ नामसारी, ३ हजार ७१४ संशोधन, २७ हजार ४८४ रोक्का, १९ हजार ७७० फुकुवा र १४ सय ८३ दाखिला खारेज गरेको विभागले जनाएको छ ।

जेठ महिनामा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । हरेक महिना उच्च रुपमा कारोबार हुँदै आएको इनरुवा मालपोत कार्यालयबाट जेठ महिनामा मात्रै २ हजार ६४५ घरजग्गा किनबेच भएको तथ्याङ्कले उल्लेख छ ।

त्यस्तै, भद्रपुर झापाबाट २१ सय ५५, बेलबारी मोरङबाट २२ सय ७४, नेपालगञ्ज बाँकेबाट १७ सय ७६, ललितपुर लगनखेलबाट १४ सय ४५ र भक्तपुरबाट १३ सय १५ घरजग्गाको किनबेच भएको छ । काठमाडौंमा उपत्यकामा भने घरजग्ग्गा कारोबार घटेको छ ।गत वैशाखमा ४४ हजार घरजग्गा किनबेच हुँदा उपत्यकामा ६ हजारको हाराहारीमा घरजग्गा किनबेच भएको थियो । तर, जेठ महिनामा वैशाखको तुलनामा १० हजार बढी घरजग्गाको कारोबार हुँदा समेत ५ हजार मात्रै किनबेच भएको छ ।

जेठ महिनामा हालसम्मकै कम राजस्व संकलन भएको छ । सरकारले जेठमा घरजग्गा कारोबारबाट देशभरका मालपोत कार्यालयहरुबाट जम्मा चार अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। वैशाखमा चार अर्ब ७८ करोड रुपैयाँ राजस्व उठेको थियो।