१६ चैत, २०८० शुक्रबार

05:56:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ४/१२ को सीमाबाट शिथिल, अर्थमन्त्रीको आश्वासन लागु होला ?

केशव आचार्य ।

२६ जेठ, २०७९

लामो समयदेखि सेयर बजार ओरालो लागिरहेको छ । गत असोजतिर ३२ सय माथिको विन्दुमा पुगेको बजार आजभोली २ हजारको हाराहारीमा छ । आम लगानीकर्ता निराश बनेका छन् । उनीहरु राष्ट्र बैंकले ल्याएको ४/१२ को सीमालाई सेयर घट्नुको कारक मानिरहेका छन् । 

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताको सबैभन्दा बढी विरोध रहेको ४/१२ करोडको सीमालाई मौद्रिक नीतिमा यथोचित सम्बोधन गर्ने आश्वासन दिनु भएको छ । पुँजी बजारलाई सुदृढ र बलियो बनाउन आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्राथमिकता दिएको दबी गर्दै उहाँले आगामी आर्थिक वर्षको बजेट बक्तव्यको बुँदा नम्बर ३२९, ३३०, ३३१ र ३३२ ले धितोपत्र सुधार, नियमन र सुपरिवेक्षणका विषयहरु उल्लेख गरेको बताउनु भएको हो ।

जनार्दन शर्माले पुँजी बजार सम्बन्धी ज्ञान र वित्तीय साक्षरता हुनुपर्ने तथा तालिम दिन जनशक्ति परिचालन गर्नुपर्ने बताउनु भयो ।

लगानीकर्ताहरु भने बजेटमा केही पनि नीतिगत कुरा नआएका कारण सेयर बजार लगातार घटिरहेको तथा सरकारले आफ्ना गुनासा पनि सम्बोधन नगरेको आरोप लगाइरहेका छन् । बुधबार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्न कानुनी व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षित गर्ने, १ अर्ब रुपैयाँ वा सोभन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्काशन गर्ने गरी सूचीकृत हुन लगाउने लगायत व्यवस्था बजेटमार्फत गरिएको जनाइएको छ ।

अर्थमन्त्रीले पुँजी बजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको भन्दै पुँजी बजारका बारेमा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायहरुलाई निर्देशन पनि दिनु भयो । 

उहाँले पुँजी बजार सम्बन्धी ज्ञान र वित्तीय साक्षरता हुनुपर्ने तथा तालिम दिन जनशक्ति परिचालन गर्नुपर्ने बताउनु भयो । गाउँ गाउँसम्म पुगेर नयाँ र साना लगानीकर्तालाई पुँजी बजारका बारेमा बुझाउने कुरामा कमी भएको छ । यसलाई अभियान कै रुपमा लगाडि बढाउनु पर्ने विषयमा उहाँले जोड दिनुभयो ।

पूँजी बजारका नियामक निकायबीच समन्वय गरी साना, मझौला र ठूला लगानीकर्ताको समस्या समाधान गर्नुपर्ने, नविन प्रविधिको प्रयोग गरी सेयर कारोबार प्रभावकारी बनाउनुपर्ने, लगानीकर्तालाई गुनासो गर्न नदिने गरी बजार सञ्चालन हुनुपर्नेलगायतका विषयमा उहाँले सचेत गराउनु भयो । 

सेयर बजारमा हाल देखापरेको समस्यालाई समाधान गर्ने विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पनि उत्तिकै चासो दिइरहनु भएको छ । 

नियमनकारी निकायहरु स्वायत्त रहनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै शर्माले पुँजी बजार तथा वित्तीय क्षेत्रका नियमनकारी निकायहरु स्वायत्त नै रहेको भन्नु भयो । उहाँले नियमनकारी निकायले स्वायत्तमात्रै नभएर जवाफदेहिता र पारदर्शिता सहितको स्वायत्तता खोज्नु पर्दछ, आफ्नो क्षेत्रको जवाफदेही नहुने र स्वायत्तता मात्रै खोज्न थालियो भने द्धन्द्ध सक्रिय हुने बताउनु भयो । 

धितोपत्र बजार अर्थतन्त्रको ऐना हो यसले पूँजीबजारको यथार्थ अवस्थालाई प्रदर्शन गरिरहेको हुन्छ । धितोपत्र बजार अर्थतन्त्रको ऐना बनाउन आवश्यक सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको अर्थमन्त्रीले बताउँदै आउनु भएको छ । बजारलाई प्रभावकारी बनाउनको लागि नयाँ प्रविधिको खाँचो रहेको तथा लगानीकर्ताको हित संरक्षणका लागि नियामकको क्षमता अभिवृद्धि गर्नुपर्नेमा मन्त्रालय सजक रहेको उहाँले बताउनु भयो ।  

सेयर बजारमा हाल देखापरेको समस्यालाई समाधान गर्ने विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पनि उत्तिकै चासो दिइरहनु भएको छ । आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने हमालले बताउनु भयो । 

बैंकहरु मर्जर हुँदा लामो समयसम्म लगानीकर्ताको सेयर बन्धक हुने समस्याले पनि बजार प्रभावित बन्न पुगेको छ ।

हमालले अबको चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयरमा आरक्षणको कोटा छुट्याउने व्यवस्थासमेत लागू हुने भन्दै बजारको स्तर अभिवृद्धि गर्न आगामी चार महिनाभित्र गैरआवासीय नेपालीलाई पनि सेयर बजार लगानी गर्ने उपयुक्त वातावरण बनाउने दाबी गर्नु भएको छ ।

बजारलाई प्रभावकारी बनाउन मार्जिन प्रकृतिको सेयर धितो कर्जाको लागि तय गरिएको नीतिगत व्यवस्थाका कारण सेयर बजारमा परेको लगानीकर्ताको गुनासो सम्बोधन गर्दै नीति परिमार्जन गरी लगानीकर्ताको मनोबल बढाउनुपर्ने आवश्यकता रहेको छ ।

बैंकहरु मर्जर हुँदा लामो समयसम्म लगानीकर्ताको सेयर बन्धक हुने समस्याले पनि बजार प्रभावित बन्न पुगेको छ । यसलाई सम्बन्धित निकायहरुबीच छलफल गरी समाधानको उपाय खोजिरहेको अध्यक्ष हमालले बताउनु भएको छ । 

घटिरहेको सेयर बजारलाई स्वस्थ बनाउने प्रयासमा बोर्ड अध्यक्ष र अर्थमन्त्री दुवै लागिपरेको जस्तो देखिन्छ । तर समस्याको वास्तविक समाधान तर्फ पुगेको भने देखिदैन । लगानीकर्ता ४/१२ लाई समस्याको जड मानिरहेका छन भने अर्थमन्त्रीको सम्बोधन अर्कातिर छ । आश्वासनले मात्र बजारको समस्या समाधान होला भन्ने विषयमा आशंका सृजना हुन थालेको छ ।