१९ मंसिर, २०८० मंगलबार

02:46:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चलायमान अर्थतन्त्रका सार्थक प्रयास – नेत्र सुवेदी ‘प्रयास’को विचार

Nepal Business

५ बैशाख, २०८०

नीति कार्यक्रम र बजेट हरेक वर्ष पेस भएकै छन् तर खर्चको अवस्था अति कमजोर छ । चालु वर्षमा राजस्व सङ्कलनको अवस्थासमेत कमजोर हुन गई अनिवार्य दायित्वको भुक्तानीका लागिसमेत वैकल्पिक स्रोत खोज्नुपर्ने दबाबमा सरकार पुगेको छ ।

नयाँ वर्ष प्रारम्भ भएसँगै पुरानो वर्षका कतिपय चुनौतीहरु भने नयाँवर्षमा सरेर आएका छन् । शिथिल भएको अर्थतन्त्र बौरिएको छैन । पूँजीगत खर्चको अवस्था कमजोर हुँदा बजारको शिथिलतामा त्राण नआएको तर्कसमेत प्रस्तुत भइरहेका छन् । तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने मिति नजिकिँदैछ । 

बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदर व्यवसायीमैत्री नरहेको टिप्पणी जारी नै छ । नेपाली युवा रोजगारीका लागि विदेशी भूमिमा निर्भर रहने क्रम सङ्घीयतापछि पनि घट्न सकेको छैन उल्टो बढेको छ । हरेक वर्षजस्तो आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट तयारीका कामहरु सुरु भएको छ ।

बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदर व्यवसायीमैत्री नरहेको टिप्पणी जारी नै छ । नेपाली युवा रोजगारीका लागि विदेशी भूमिमा निर्भर रहने क्रम सङ्घीयतापछि पनि घट्न सकेको छैन उल्टो बढेको छ । हरेक वर्षजस्तो आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट तयारीका कामहरु सुरु भएको छ ।

तीन तहका सरकार छन् तर यी सरकारहरुले ठोस रुपमा कुन नीतिगत खाका प्रयोग गरेर उत्पादनमूलक अर्थतन्त्रको आधार तयार गर्ने भन्ने कार्य भने हालसम्म हुन सकेको छैन । 

संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि÷समाजवादोन्मुख अर्थतन्त्र होस् वा पन्ध्रौँ योजनाले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा नै किन नहोस् वास्तविक धरातलमा उत्रने गरी यी विषयको व्याख्या र व्यवस्था दुवै हुन सकेन ।

नीति कार्यक्रम र बजेट हरेक वर्ष पेस भएकै छन् तर खर्चको अवस्था अति कमजोर छ । चालु वर्षमा राजस्व सङ्कलनको अवस्थासमेत कमजोर हुन गई अनिवार्य दायित्वको भुक्तानीका लागिसमेत वैकल्पिक स्रोत खोज्नुपर्ने दबाबमा सरकार पुगेको छ । यस्तो अवस्थामा स्वदेशमा रहेका सम्भावनाहरुको उजागर गर्नेतर्फ नीति, कार्यक्रम र बजेट निर्देशित हुनुपर्ने देखिन्छ ।

सङ्घीय संरचनामा उपलब्ध अवसर

नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाअनुसार मुलुकमा तीन तहका सरकारहरु क्रियाशील रहिआएका छन् । देशैभरबाट सङ्कलन भएको आमदानीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको सूअनुसार सातवटै प्रदेश र सात सय ५३ वटा पालिकामा आर्थिक वर्षको सुरुदेखि अन्त्यसम्म किस्ताबन्दी रुपमा बाँडफाँट गरिन्छ । सबै शासकीय एकाइहरुले आ–आफ्नो नीति, कार्यक्रम र बजेट तर्जुमा र कार्यान्वयन गर्दछन् । राष्ट्रियस्तरमै समग्रमा मार्गदर्शन गर्ने नीति र कार्यक्रम नेपाल सरकारले तर्जुमा गरेर लागू गर्दछ ।

स्थान विशेषका सवाल तथा प्राप्त अधिकारअनुसार आफ्नै नीति तथा कानुनबाट समाधान गर्न प्रदेश र स्थानीय तह स्वतन्त्र छन् । यस क्रममा उत्पादन, प्रतिस्पर्धा र लगानीको उपयुक्त वातावरण तयार गर्नका लागिसमेत केन्द्रबाट संविधानको मर्म अनुकूल हुने गरी नीति लिनु उपयुक्त हुन्छ । 

समाजवादोन्मुख र आत्मनिर्भर अर्थतन्त्र हुनका लागि कुन कुन पात्रहरुले के कस्तो अगुवाइ लिने भन्ने पनि प्रस्ट पारिनु पर्दछ । उत्पादन, वितरण वा व्यापार, उपभोग, सेवाको विस्तार र मौलिक उत्पादनको संरक्षणसहितको प्रवर्द्धनमा भने सबै एकाइहरुले प्राथमिकतापूर्वक नीति, कार्यक्रम र बजेट निर्माण गरी कार्यान्वयनमा उतार्न सक्दछन् ।

सम्भावनाको राष्ट्रियकरण र समस्याको स्थानीयकरण गर्नमा सङ्घीय शासकीय व्यवस्था खरो उत्रनु पर्दछ । विकृतिको चाङ लगाउने नभई नवीनतम र उदाहरणीय आर्थिक रुपान्तरणका कार्यक्रमहरु अघि सारेर अन्य तहसँग परिपूरकको भूमिकामा देखिनु आवश्यक छ । कतिपय स्थान र सवालमा सहकार्यको ढाँचा प्रयोग गर्न सकिन्छ । जस्तो कि जलविद्युत् योजना, बस्ती विकास कार्यक्रम, उत्पादन सङ्कलन तथा बिक्री वितरण केन्द्र एकभन्दा बढी प्रदेश वा स्थानीय तहहरु मिलेर कार्यान्वयन गर्न सक्दछन् । 

स्थानीय आर्थिक विकासको मोडल प्रयोगको सन्दर्भ

नेपालमा लघु उद्यम विकास कार्यक्रमको मोडल सफल मोडलका रुपमा लिइन्छ । यसमा उद्यम विकास, बजारीकरण, जीवनस्तर विकासमार्फत गरिबी निवारणका विषयहरु यसमा समेटिइएका छन् । विगतमा सफलताको सिँढीमा अगाडि बढेको मोडल भएकै कारण सङ्घीयता कार्यान्वयनमा आएपश्चात् पनि प्रत्येक स्थानीय तहमा उद्यम विकास कार्यक्रम समेट्ने संरचना र जनशक्ति आबद्ध गरिएको छ । यो कार्यक्रमले निजी क्षेत्रलाई समेत विश्वासमा लिएर सहभागितामूलक मोडलमा उत्पादन, आय र रोजगारी वृद्धिलाई अगाडि बढाउने अवधारणा प्रयोगमा ल्याएको छ । 

केही वर्षयता आएर नेपालमा स्थानीय आर्थिक विकासको मोडलका सम्बन्धमा केही सरकारी दस्तावेजहरु तयार भएका छन् । उत्पादनसँग सामूहिक शक्ति ९विद्यार्थी, महिला समूह, सहकारी, क्लब वा अन्य सामाजिक अभियानमा संलग्न० लाई जोड्न सकेमा अर्थतन्त्र चलायमान हुन सक्छ÷बेरोजगारी हट्न सक्छ ।

स्थानीय सम्भावना र आवश्यकताअनुसार उत्पादनको आइटम फरक हुन सक्छ तर अर्थतन्त्रलाई आत्मनिर्भर र टिकाउ बनाउने भनेकै स्थानअनुसारका प्रोडक्टको उचित बजारीकरण मात्र हो । स्थानीय आर्थिक विकास एक यस्तो अवधारणा हो जसले स्थानीय सम्भावनाको सहभागितामूलक ढङ्गले सदुपयोग गर्दै आय र रोजगारी बढाउने कामहरु हुने गर्दछ । 

समग्र परिवेशको बहुपक्षीय ढङ्गले मसिनो विश्लेषण गर्दै मेहनतसाथ काम गर्दै जाने र परिपूरक भूमिकामा रहेका पात्र संलग्न भएर मात्र दिगो स्थानीय आर्थिक विकास सम्भव छ । आवधिक योजनाको दस्तावेजमा सहकारी, निजी, सरकार र सामुदायिक क्षेत्रलाई मुख्य चार पात्रका रुपमा लिइएको छ । यीमध्ये निजी क्षेत्रलाई प्रमुख पात्रका रुपमा स्वीकार गर्नुपर्दछ किनभने निजी क्षेत्रले मात्र नवीन सोचका साथ उद्यमी कामहरु गर्न सक्दछन् र आवश्यक पर्दा जोखिम पनि लिन सक्दछन् । यसो भन्दैमा उदाहरणीयरुपमा भूमिका खेलिरहेका अन्य सङ्गठित संस्थाहरु वा अभियन्ता समूहलाई पनि समेट्न सकिँदैन भन्ने हुँदैन । तुलनात्मक रुपमा राम्रो भूमिका रहने हदसम्म उनीहरुको सहभागिता रहन सक्छ । 

व्यापारको संरचना केलाउँदा नेपालले विदेशबाट किनेर उपभोग गरिरहेका कतिपय वस्तुहरु खासगरी खाद्यान्न र निर्माण सामग्रीहरु नेपालमै उत्पादन, प्रशोधन र वितरण गर्न सकिने देखिन्छ । नेपाली भूमिमा अन्न उत्पादन बढाउन सम्भव छ, तरकारी र फलफुल पनि हामीलाई पुग्ने गरी उत्पादन हुनसक्छ ।

सिमेन्ट उत्पादनमा क्रान्ति आएजस्तै अन्य बढी उपभोग हुने निर्माण सामग्री र मालसामान नेपालमा उत्पादन गर्ने परिस्थिति सिर्जना गर्न सकिन्छ । पहिलेदेखि उत्पादन गर्दै आएका कतिपय अन्न, दलहन र फलफूल उत्पादनका लागि प्राविधिक जनशक्ति नेपालमै उपलब्ध छन् । केही आधुनिक औजार र तौरतरिका आवश्यक पर्ला । योबाहेक उत्पादित वस्तुको उपयुक्त बजारीकरण तथा वितरण महत्वपूर्ण छ । स्थानीय बजार व्यवस्थापनमा समयानुकूल नयाँ सीप चाहिन्छ । 

संयुक्त राष्ट्रसङ्घको उपमहासचिवको जिम्मेवारी सम्हाल्नुभएका नेपाली कूटनीति कुलचन्द्र गौतमद्वारा लिखित पुस्तक ‘लस्ट इन ट्रान्जिसन’ मा लेखकले नेपालमा भइरहेका छ खराब प्रवृत्तिको सूचीमा अति राजनीतिकरण, हिंसा र दण्डहिनताको संस्कृति, आर्थिक सवालहरुको सम्बन्धमा चरम बेवास्ता, जिम्मेवारी पन्छाउने प्रवृत्ति, संयोजनमा भन्दा विभाजनमा रमाउने सामाजिक संस्कृति र गर्नेभन्दा गरेजस्तो देखाउने प्रवृत्ति समाविष्ट छन् । यी सबै विषयले आर्थिकरुपमा सबल बन्ने मार्गमा अवरोधको काम गरेको प्रतीत हुन्छ । 

आर्थिक विकासलाई सारभूतरुपमा प्राथमिकता, मेहनत गर्ने बानी, स्वदेशी प्रयोग गर्ने संस्कृति र आर्थिक चक्रको संस्थागत विकास नै समृद्धिको आधार हो । यी जिम्मेवारीहरु स्थानीय तहले पूरा गर्न स्रोतको अभाव नहोस् भन्नका लागि साझेदारी वा संयुक्त व्यवस्थापनमा स्थानीय तहले कार्य गर्न सक्ने अवस्था रहेको छ । स्थानीय सरकारहरु आर्थिक समृद्धिका लागि आपसी समन्वयसमेत गरी बजार शक्तिको भरपूर प्रयोगमार्फत आर्थिक उन्नतिको सशक्त आधारभूमि बन्न सक्दछन् ।  यसको लागि खाँचो छ स्थानीय आर्थिक विकासको रणनीति, कानुनी खाका र निरन्तर संवाद गरी उत्पादनशील कार्य गर्ने स्थानीय साझा मञ्चको ।

स्थानीय तहको भूमिकालाई नजिकबाट नियाल्दा प्रमुखरुपमा नियमनकारी भूमिका, लगानीकर्ताका रुपमा भूमिका, अन्य पात्रसमेतलाई लगानीमैत्री वातावरण सिर्जनामा भूमिका जसमा लगानी सम्मेलनहरु आयोजनासमेत पर्न सक्दछ । यसबाहेक सार्वजनिक निजी साझेदारी मोडलको प्रयोग के कसरी गर्ने भन्ने सम्बन्धमा कानुनी र अन्य तयारीसमेत पर्दछन् । मूलरुपमा त उत्पादन र बजार प्रवर्द्धनले विशेष महत्व रहन्छ । 

स्थानीय आर्थिक विकासलाई सर्वसाधारणको जीविकासँग जोड्नु आवश्यक छ । यस सम्बन्धमा सम्बोधन गर्नैपर्ने पाँच प्राथमिक विषय छन् । पहिलो भनेको उत्पादन र बजारीकरण केन्द्रित नीति तथा कार्यक्रम आवश्यक पर्दछ । त्यस्तै दोस्रो विषय भनेको समूह शक्तिलाई उत्पादन अभियानमा जोड्ने विषय हो । तेस्रो विषय भनेको आपसमा परिपूरक हुने खालका व्यावसायिक प्रयत्नहरुलाई राज्यका तर्फबाट सहजीकरण गर्ने विषय पर्दछ । चौथो पक्ष भनेको मौलिक उत्पादनको संरक्षण र प्रवर्द्धन गर्ने विषय पर्दछ ।

देशको उत्पादनलाई संरक्षणसहितको प्रवर्द्धनका लागि आयतमा नियन्त्रण र कडाइ पनि आवश्यक छ । यसबाहेक सरकारी कार्यालयमा आवश्यकीय चीजहरु सम्भव भएसम्म नेपाली नै खरिद गर्नुपर्दछ । त्यस्तै, पाँचौँ विषय भनेको नेपालको अवस्थिति र सम्भावनाअनुसारका प्रोडक्टको विश्व बजारमा प्रचारप्रसार एवम् मूल्य अभिवृद्धिको प्रयत्नसमेत पर्दछ । तसर्थ उत्पादनसँग जोडिने कामहरुलाई नीति, कार्यक्रम र पूर्वाधारका तर्फबाट समग्र इकोसिस्टम तयार गर्नुपर्दछ । 

निस्कर्ष

अबको समय आर्थिक रुपान्तरणको हुनुपर्दछ । अर्थतन्त्रलाई बलियो र दिगो बनाउने हो भने देशभित्रको माग अनुसारका सीपयुक्त जनशक्ति निर्माणमा, सर्वप्रथम आन्तरिक बजार र क्रमशः नजिकको बाह्य बजारको मागअनुसार वस्तु र सेवा उत्पादन एवम् वितरणको व्यवस्था गर्नुपर्दछ । कष्टकर जीवनका साथ विदेशी भूमिमा रहेर आर्जन गरेको कमाई उपभोगमा र अनुत्पादक क्षेत्रमा खर्च हुनु दुःखद कुरा हो । व्यावसायिक क्षेत्रमा खासगरी उत्पादन, रोजगारी र आय बढ्ने काममा सबै तहका सरकारहरुले प्राथमिकतापूर्वक नीतिगत र कार्यक्रमगत व्यवस्था गर्नु जरुरी छ ।

आर्थिक विकासको एजेन्डा सिङ्गो देशकै प्रमुख सवाल बन्नुपर्दछ । सबै सामूहिक र व्यक्तिगत पहल यही मिसनका लागि सहयोगी बन्नुपर्दछ । आर्थिक रुपान्तरणका लागि कर्मशील र अनुशासित कार्यसंस्कृतिले स्थान पाउनुपर्दछ । स्थानीय आर्थिक विकासको समष्टिले मात्र राष्ट्रियस्तरमा दह्रो र टिकाउ आर्थिक समृद्धि हुन सक्दछ । सबै तहका सरकारहरुले नयाँ नीति तथा बजेट जारी गर्दा यसलाई प्राथमिकता दिए मात्रै अर्थतन्त्र चलायमान हुनसक्छ । ९लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुनुहुन्छ ।