८ बैशाख, २०८१ शनिबार

04:51:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘ठूलाबडा’ को सवारीमा ‘साना’ लाई सधैंको सास्ती

Nepal Business

३० भदौ, २०७९

आफ्ना जनतालाई पीडा दिएर विदेशी पाहुनाको सम्मान पनि हुँदैन । पाहुना निक्लनुभन्दा निकै समयदेखि अघि बाटो खाली गराउँदा सुरक्षाकर्मीलाई त पक्कै सहज हुन्छ, तर आम नागरिकलाई ठूलो मर्का पर्छ ।

‘ठूलाबडा’ को सवारीमा ‘साना’ लाई सधैंको सास्ती

काठमाडौँ,
विदेशबाट कोही अति विशिष्ट पाहुना नेपाल आउँदा दुई मुलुकबीच के संवाद–सहमति हुन्छ भन्ने चासोभन्दा पनि अब कति ट्राफिक अस्तव्यस्त हुने हो भन्ने चिन्ता राजधानीवासीमा बढ्ने गरेको छ । 

अहिले नै पनि, नेपालको चारदिने भ्रमणका क्रममा सोमबारदेखि काठमाडौंमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारी व्यवस्थापनका नाममा काठमाडौंका व्यस्त सडक घण्टौं खाली गराइँदा नागरिकको दैनिकी अस्तव्यस्त बनेको छ ।

त्यो किन भने, उच्च ओहोदाका विदेशी पाहुनाका भ्रमणका क्रममा पूरै काठमाडौंको सवारी प्रणाली प्रभावित तुल्याइन्छ । 

अहिले नै पनि, नेपालको चारदिने भ्रमणका क्रममा सोमबारदेखि काठमाडौंमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारी व्यवस्थापनका नाममा काठमाडौंका व्यस्त सडक घण्टौं खाली गराइँदा नागरिकको दैनिकी अस्तव्यस्त बनेको छ । प्रहरी र प्रशासनले चुस्त सवारी व्यवस्थापन गर्न नसक्नुको मूल्य आम जनताले चुकाउनुपरेको छ ।

आइतबार गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले लीको भ्रमण अवधिभर आवागमन र बस्ने स्थानको सुरक्षामा कुनै कमजोरी हुन नदिन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

त्यसपछि प्रहरीले लीको सवारी रुटका दुवै लेन खाली गर्दा सर्वसाधारणलाई हैरानी थपिएको हो । सोमबार ली विमानस्थल ओर्लिएपछि सवारी अवधिभर प्रहरीले सिनामंगलबाट तीनकुने, नयाँ वानेश्वर, माइतीघर, थापाथली–त्रिपुरेश्वर–कालीमाटी हुँदै होटल सोल्टीसम्मको व्यस्त सडक खाली गरायो । 

मंगलबार र बुधबार पनि उनले भ्रमण गरेका क्षेत्रमा यही क्रम दोहोरियो । उक्त अवधिमा उनी हिँड्ने सडकमा कसैले आवागमन गर्न पाएनन् । 

अस्पताल हिँडेका होऊन् या स्कुल या अरू गन्तव्य, यात्रुहरू बीच बाटामै जाममा फसे । कति सवारीचालकले प्रतिरोधस्वरूप हर्न बजाए, कतिले सरकारलाई गाली गरे । सोमबार यस्तो नियति भोगेका कतिले भोलिपल्ट र पर्सिपल्ट आफ्नो दिनचर्या नै बदले । यसरी एक जनाको सवारी व्यवस्थापनका नाममा दसौं हजारले सास्ती पाए ।

निश्चय पनि अति विशिष्ट व्यक्तित्व (भीभीआईपी) को सुरक्षा सवालमा सरकार संवेदनशील हुनैपर्छ । अझ यस्ता विदेशी पाहुनाको भ्रमणका क्रममा केही घटना भएमा मुलुकको सुरक्षा प्रणालीमाथि मात्रै प्रश्न उठ्दैन, दुई देशको सम्बन्धमा पनि असर पर्न सक्छ । 

त्यही भएर, उनीहरूको सुरक्षाका खातिर सरकारले कुनै कसर बाँकी राख्न हुँदैन । तर यसका नाममा सहरै ठप्प तुल्याएर आम नागरिकलाई प्रताडित गर्न पाइँदैन ।

आफ्ना जनतालाई पीडा दिएर विदेशी पाहुनाको सम्मान पनि हुँदैन । पाहुना निक्लनुभन्दा निकै समयदेखि अघि बाटो खाली गराउँदा सुरक्षाकर्मीलाई त पक्कै सहज हुन्छ, तर आम नागरिकलाई ठूलो मर्का पर्छ ।

 सहरको आवागमन प्रणालीलाई नै चौपट तुल्याउँदा सवारी व्यवस्थापन होइन, अव्यवस्थापनचाहिँ हुन्छ । तसर्थ, भीभीआईपीको सवारीलाई थितिबद्ध बनाउनैपर्छ । यसका निम्ति प्रहरी–प्रशासनले आवश्यक अध्ययन–गृहकार्य गर्न जरुरी छ ।

भीभीआईपीको भ्रमणमा सवारी अव्यवस्थापनको यो व्यथा आजको होइन । जोसुकै अति विशिष्ट विदेशी पाहुना आउँदा काठमाडौंको सवारी अस्तव्यस्त बन्ने गरेको छ । त्यसो त, विदेशी पाहुना आउँदा मात्रै होइन, हाम्रै राष्ट्रपतिका आन्तरिक तथा बाह्य भ्रमणका सिलसिलामा पनि नेपालीहरू यही नियति भोग्न अभिशप्त छन् । 

त्यसैले जुनसुकै उपाय लगाएर किन नहोस्, अति विशिष्ट व्यक्तिको सवारीको सास्ती भोग्नबाट जनतालाई छुटकारा दिलाउनुपर्छ । यसका निम्ति सरकारले अन्य मुलुकमा अति विशिष्ट व्यक्तिको आवागमनका क्रममा गरिने सवारी व्यवस्थापनबाट पनि सिक्न सक्छ ।


प्रहरीले कमभन्दा कम जाम होस् भनेर, भीभीआईपी सवार लेन मात्रै अति थोरै अवधिका लागि खाली गर्न सक्छ । भीभीआईपी हिँडिसकेपछि त्यही लेन पनि तत्कालै खुलाउन सक्छ । र कुन लेनमा कुन समय सवारी हुँदै छ भनेर एक–दुई दिनअगावै सार्वजनिक जानकारी दिन सक्छ । यसो गर्दा सवारीकै कारण १५–२० मिनेटभन्दा बढी जाम हुन पाउँदैन । 

दुईतर्फी नै लेन खाली नगराएपछि त्यसै पनि सम्पूर्ण सवारी प्रणाली अस्तव्यस्त बन्दैन । यसो गर्दा पक्कै पनि पूरै बाटो खाली गराउँदाजस्तो प्रहरीलाई सजिलो हुँदैन≤ सुरक्षा व्यवस्थापनमा बढी सतर्कता आवश्यक पर्छ । तर जसरी हुन्छ, यसको व्यवस्थापन दायित्व प्रहरी प्रशासनको हो, आफ्नो सजिलोका लागि उसले सर्वसाधारणलाई हैरानी थप्न पाउँदैन ।

यस अतिरिक्त, अति विशिष्ट व्यक्तिको उपत्यकाबाहिर र विदेश भ्रमण हुँदा तथा विदेशी अति विशिष्ट पाहुना आउँदा हेलिकप्टरबाटै विमानस्थलदेखि निवाससम्म र तोकिएका कार्यक्रम स्थलसम्म जाने–आउने व्यवस्था मिलाउन पनि सकिन्छ । 

सरकारले केहीअघि यसबारे चर्चा चलाए पनि थप बहस भएको छैन । सबै भ्रमणमा नभए पनि बेला, अवस्था र संवेदनशीलता हेरी यो एउटा विकल्प हुन सक्छ । त्यसैले उपाय जेसुकै लगाएर किन नहोस्, स्वदेशी वा विदेशी अति विशिष्ट व्यक्तित्वको सवारी व्यवस्थापनका नाममा जनताले सास्ती पाउने सिलसिला रोकिनुपर्छ । साभार : कान्तिपुरको सम्पादकीय