८ मंसिर, २०८१ शनिबार

05:56:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घटिरहेको सेयर बजारको असर बैंकहरुलाई , २ सय रुपैयाँ भन्दा तल झर्याे सेयर मूल्य

२५ जेठ, २०७९

अहिले कारोबार भइरहेका २५ वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकको २५० रुपैयाँ भन्दा कममा कारोबार भएकोे छ ।

घटिरहेको सेयर बजारको असर  बैंकहरुलाई , २ सय रुपैयाँ भन्दा तल झर्याे सेयर मूल्य

काठमाडौं । निरन्तर घटिरहेको सेयर बजारको असर सबभन्दा बढी बैंकहरुलाई परेको देखिएको छ । दिनप्रतिदिन घटेको बजारमा बैंकको सेयर मूल्य २ सय भन्दा पनि मुनि झरेको छ । सेयर बजार बढेको समयमा सबैभन्दा सस्तो सेयरको सूचीमा हाइड्रोपावर कम्पनी पर्ने गरेकोमा अहिले नेप्सेको वेवसाइटमा सबैभन्दा सस्तो सेयरको सूचीमा धेरैजसो वाणिज्य बैंकहरुको सेयर देखिएको छ ।  

मंगलबार वाणिज्य बैंकको सेयर २ सय भन्दा कममा कारोबार भएको छ । मंगलबार सेञ्चुरी कमर्सियल बैंकको सेयर १९६.९० रुपैयाँमा कारोबार भएको छ । अहिले कारोबार भइरहेका २५ वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकको २५० रुपैयाँ भन्दा कममा कारोबार भएकोे छ ।

नेपालको सेयर बजारमा कम भोलाटाइल समूहमा कारोबार हुने सेयरमा आउने वाणिज्य बैंकको सेयर नै पछिल्लो समय धेरै नै घटेको छ । सेयर बजार परिसूचक उच्च विन्दुमा हुँदा नबिल बैंक र एनआइसी एसिया बैंकको सेयर मूल्य १ हजार माथि थियो । अहिले वाणिज्य बैंकमा सबैभन्दा महंगो सेयर मूल्य रहेको नबिल बैंकको सेयर ८३१.५० रुपैयाँमा नै पाइन थालेको छ ।

अहिले वाणिज्य बैंकको औसत पीइ रेसियो १६.५५ रहेको छ । पीइ रेसियो १५ भन्दा मुनि रहेका सेयरहरुलाई आधारभूत रुपमा एकदमै खरिद योग्य सेयर मान्ने गरिन्छ । मंगलबारको मूल्य र बैंकहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसारको प्रति सेयर आम्दानीलाई आधार मानेर निकालिएको पीइ रेसियो अनुसार सबैभन्दा सस्तो सेयर नेपाल क्रेडिट एन्ड कमर्स बैंक देखिएको छ।

बैंकको पीइ रेसियो ११.४५ मात्रै छ जबकि बैंकले तेस्रो त्रैमाससम्ममा प्रति सेयर आम्दानी १७.७३ रुपैयाँ रहेको छ । वाणिज्य बैंकमा प्रति सेयर आम्दानीको हिसाबले सबैभन्दा आकर्षक सेयर एनआइसी एसिया बैंकको रहेको छ । एनआइसी एसिया बैंकको प्रति सेयर आम्दानी तेस्रो त्रैमाससम्म ४१.५२ रुपैयाँ रहेको छ भने अन्य सबै वाणिज्य बैंकको प्रति सेयर आम्दानी २० भन्दा मुनि हेको छ ।