गत वैशाख महिनाको ३० गते स्थानीय तहको चुनाव भएको थियो । आज चुनाव सकिएको लगभग तीन हप्ता वित्न लागिसक्दा पनि अपेक्षाकृत रुपमा निक्षेप बढ्न सकेको छैन ।
यतिखेर बैंकमा १३ अर्ब रुपैयाँको हाराहारीमा मात्रै निक्षेप बढेको छ । जेठ पहिलो हप्ता ७ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले मंगलबार सार्वजनिक गरेकोे तथ्यांकले प्रस्ट्याउँछ ।
बैंकिङ प्रणालीमा अपेक्षा गरेअनुसारको निक्षेप संकलन हुन नसक्नुले बजारमा तरलता संकट यथावत रहेको संकेत गर्दछ । अझ चुनावअघि बैंकबाट बाहिरिएको हाराहारीमा पनि निक्षेप संकलन हुन नसकेको बैंकरहरू बताउँछन । कर्जाको माग भए पनि प्रवाह गर्ने क्षमता नभएका बैंकहरूलाई स्रोत नै नबढेपछि यतिबेला लगानीयोग्य पुँजी अभाव कायमै छ ।
यतिखेर बैंकमा १३ अर्ब रुपैयाँको हाराहारीमा मात्रै निक्षेप बढेको छ । जेठ पहिलो हप्ता ७ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले मंगलबार सार्वजनिक गरेकोे तथ्यांकले प्रस्ट्याउँछ ।
यस हिसाबले निक्षेप संकलन हुँदा अघिल्लो शुक्रबारसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको कुल निक्षेप ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यो कूल निक्षेपमा विदेशी मुद्राको निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ रहेको छ ।
भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावअघि अर्बौं निक्षेप बाहिरिएको थियो । नेपाल बैंकर्स संघकै तथ्यांकअनुसार वैशाख महिनाभर वाणिज्य बैंकबाट मात्रै २६ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो ।
बैंकरहरूले चुनावपछि बैंकिङ प्रणालीमा राम्रै निक्षेप फर्कने अपेक्षा गरेका थिए । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय चुनावपछि जति अपेक्षा गरेको त्यति रकम जम्मा नभएकाले अचम्मित भएको बताउनु भयो ।
अहिले सातामा ६–७ अर्ब मात्रै निक्षेप जम्मा हुनुलाई उहाँले चुनाव पछिले खासै फरक नपारेको सामान्य नै रहेको तर्क गर्नुभयो । जति पैसा गयो त्यसको दुई सातादेखि एक महिना पेरीफेरीमा केही पैसा मात्रै प्रणालीमा आएको देखिन्छ ।
संघका अध्यक्ष उपाध्याय भन्नुहुन्छ, चुनावले निक्षेपमा खासै सिग्निफेन्ट परिवर्तन ल्याएको देखिएन । दुई/तीन हप्ताअघि कर्जा घटेको थियो तर अहिले चार अर्बले बढेको छ । कर्जा बढ्नु भनेको लगानीमा जानु हो ।
अघिल्लो पटकको चुनावमा पनि खासै निक्षेप नबढेको र अहिले पनि खासै नबढ्ने नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउनु हुन्छ । उहाँका अनुसार अझै यसमा विदेशी मुद्राकै निक्षेप बढेकोले स्वदेशी निक्षेपसमेत गरेर यत्तिको देखिएको हो । बजेटको प्रसंगमा बैंकहरूलाई आवश्यक पर्ने पर्याप्त तरलता भएकाले अब आगामी मौद्रिक नीतिले केही व्यवस्था गर्न सक्ने अपेक्षा उहाँको रहेको छ ।
बजेटमा सरकारले विदेशी लगानी भित्र्याउन सहज गर्ने, रेमिट्यान्सलाई प्रमोट गर्ने भनेको छ यसले आगामी दिनमा बैंकमा निक्षेप बढाउन साथ दिन सक्ने शर्माले बताउनु भयो । वाणिज्य बैंकको कर्जा प्रवाह गर्ने क्षमता कसिलो भएको भनिए पनि जेठ दोस्रो साता ४ अर्ब रुपैयाँ बराबरको प्रवाह भएको छ ।
चालू आर्थिक वर्षको सो अवधिसम्म कुल निक्षेप १ खर्ब ८२ अर्ब रुपैयाँले बढ्दा ऋण ४ खर्ब ७७ अर्ब रुपैयाँले वृद्धि भएको छ । यसरी हेर्दा निक्षेपको तुलनामा ऋण उच्च दरमा छ ।
यससँगै वाणिज्य बैंकहरूको हालसम्म कुल प्रवाहित कर्जा ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यो कुल कर्जामा विदेशी मुद्राको ऋण ३९ अर्ब रुपैयाँ रहेको संघले जानकारी दिएको छ । यसबीचमा अधिकांश कर्जा एलसीमा गएको तर, नयाँ कर्जा अझै गाह्रो भएको बैंकरहरू बताउँछन् ।
चालू आर्थिक वर्षको सो अवधिसम्म कुल निक्षेप १ खर्ब ८२ अर्ब रुपैयाँले बढ्दा ऋण ४ खर्ब ७७ अर्ब रुपैयाँले वृद्धि भएको छ । यसरी हेर्दा निक्षेपको तुलनामा ऋण उच्च दरमा छ । जसले बैंकहरूको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) औसत ९०.४१ प्रतिशत हाराहारी पुगेको छ ।
निक्षेप संकलनको तुलनामा लगानीको माग बढ्दा समग्र बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी अभावको स्थिति छ । अधिकांश बैंकले असार मसान्तसम्ममा सीडी रेसियो ९० प्रतिशतको सीमामा ल्याउनु पर्ने वाध्यता पनि छ । निक्षेप र कर्जाको असन्तुलन वृद्धिले कर्जा/निक्षेप अनुपात नियन्त्रणमा आउन सकेको छैन ।