९ मंसिर, २०८१ आइतबार

05:45:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिउँमा फसेका मजदुरको उद्धारमा हेलिकप्टर मगाइयो

Nepal Business

१८ पुस, २०७८

हिउँमा फसेका मजदुरको उद्धारमा हेलिकप्टर मगाइयो

रुकुम, १८ पुस । रुकुमपूर्वमा १४ मजदुर विगत पाँच दिनदेखि हिउँमा फसेका छन् । ती मजदुर बसेको स्थान पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा यही पुस १३ र १४ गते बाक्लो हिउँ परेको र त्यहाँबाट उनीहरू बाहिर आउन नसकेका हुन् ।  

वडा नम्बर २ ले बजेट विनियोजन गरेपछि घोरेटो बाटो निर्माणका लागि योजना परेको थियो । सोही घोरेटो बाटो निर्माणमा खटिएका उनीहरू बाक्लो हिउँका कारण बाहिर आउन सकेका छैनन् । वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरू काम गर्ने ठाउँमै फसेको भनेर आइतबार मात्रै खबर आएको थियो । 

उनीहरूमध्ये १० पुरुष र चार महिला छन् । जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन पाँच दिनदेखि ओढारमा बसिरहनुभएको छ । खाने रासन पनि सकिएकाले समस्या भएको बताइएको छ । सबै जना पेल्माका बासिन्दा हुन् । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले आइतबार मात्रै खबर आएकाले उनीहरूको उद्धारको पहल भइरहेको जानकारी दिनुभयो । हिउँमा फसेका मजदुरको उद्धारका लागि गृह मन्त्रालयलाई हेलिकप्टर पठाउन आग्रह गरिएको प्रजिअ बाँस्कोटाले बताउनुभयो । उनीहरू रहेको ठाउँको पहिचान गरी उद्धार गर्ने तयारी गरिएको उहाँको भनाइ छ । रासस