२० बैशाख, २०८१ बिहिबार

01:49:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाललाई ईयुको प्रतिबन्ध सूचीबाट हटाउनु पर्नेः मन्त्री आले

Nepal Business

१३ जेठ, २०७९

हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर र हिमालय एयरलाइन्स गरी तीन वटा नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि इयुको कालोसूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्था नभएको बताइएको छ ।

नेपाललाई ईयुको प्रतिबन्ध सूचीबाट हटाउनु पर्नेः  मन्त्री आले

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउन माग गर्नु भएको छ  । मन्त्री आले र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको सेफ्टी लिष्ट (प्रतिबन्ध) बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले नेपालको उडान सुरक्षाका आठ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर प्रारम्भिक नतिजाअनुसार ७०.१ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा औसतभन्दा बढी भएकाले नेपाली आकाश सुरक्षित रहेको बताउनु भएको थियो ।

उहाँले आईकाओको नतिजाअनुसार नेपाली आकाश सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाल ईयूको प्रतिबन्ध सूचीबाट हट्नुपर्छ ।

आठ वर्षअघि इयुले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्यांकन गर्दै कालोसूचीमा राखेको हो । नेपालले हवाइ सुरक्षाका क्षेत्रमा राम्रो सुधार गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओले नेपालको नाम आफ्नो कालोसूचीबाट हटाइसकेको छ ।

ईयूले नेपालको हवाइ क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो ।

सोही भेटवार्ताका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का महानिर्देशक ई. प्रदीपकुमार अधिकारीले हाल प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको जानकारी दिनु भएको थियो ।

हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर र हिमालय एयरलाइन्स गरी तीन वटा नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि इयुको कालोसूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्था नभएको बताइएको छ ।