८ मंसिर, २०८१ शनिबार
01:54:37 PM
१७ पुस, २०७८
१७ पुस, २०७८
विश्व जलवायु सम्मेलन कोप २६ मा स्कटल्यान्डको ग्लास्गोमा भएको कार्यक्रममा भाग लिन गएको समयमा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवालाई धेरैले चिन्ने एउटै माध्ययम बनेको थियो नेपाली भादगाउँले टोपी । प्रधानमन्त्रीले स्वदेश फर्के लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै भन्नुभयो, अमेरिकी राष्ट्रपति जो वाईडेनले पनि चिनी हाले, मैले टोपी लगाएर गएको थिएँ, नेपाल आएका रहेछन् उनी । यसरी नेपालको प्रधानमन्त्रीका रुपमा भन्दा पनि शेरबहादुर देउवाले टोपी लगाएका कारण अमेरिकी राष्ट्रपति जो वाईडेनसंग कुराकानी भयो ।
यो त प्रधानमन्त्रीको कुरा भयो, यस्तै देश तथा विदेशका अन्य कार्यक्रमहरुमा जाँदा पनि भादगाउँले कालो वा ढाकाको टोपी लगाएको छ भने धेरैको आँखा त्यही टोपी र उसको लवाईमा पर्ने गरेको हामी सबैले जाने बुझेकै कुरा हो ।
कुनै समय थियो नेपालका सबै क्षेत्रमा टोपी लगाईन्थ्यो । तत्कालिन राजा देखी रैतीसम्म सबैको शिरमा टोपी हुन्थ्यो । टोपी केवल पहिचान र परिचयसंग मात्र पनि जोडिएको छैन । टोपी स्वास्थ्याका दृष्टिकोणबाट समेत लाभदायक देखिएको छ । अहिले जोडको समय छ । जो कोही कुनै न कुनै रुपमा जाडो छल्न टाउकोमा टोपी वा अरु कुनै कपडाको प्रयोग गरिरहेका हुन्छन् । अर्थात टोपीले हामीलाई धेरै कुरामा सुरक्षित गरिरहेको हुन्छ ।
एक पटक नेपालीसंग भेटभएको वा नेपाल आएको कुनै विदेशी नागरिकले नेपाली भनेर चिन्ने एउटा पहिचान जस्तै बनेको टोपीका बारेमा केही समय कम चर्चा भएपनि अहिले भने धेरै चर्चा परिचर्चा हुन थालेको छ । आगन्तुक कला संस्कृतिको प्रभावमा नेपाली कला, संस्कृति, खानपान, पहिरन परिरहेको समयमा अहिले नेपाली युवाहरुले सुरुगरेको टोपी दिवशले केही भएपनि टोपीका बारेमा बहस सुरु गराएको छ ।
विकासको गतिमा अगाडि बढिरहेको नेपाल अन्य मुलुसंग आर्थिक, सामाजिक, राजनीतिक लगाएतका विषयमा प्रतिस्प्रर्धा गर्न सक्ने हुँदा पनि आफ्नो पहिचान र परिचयका रुपमा रहेका विविध विषयलाई कसरी बचाई राख्ने भन्ने विषयमा पनि सोच्न आवश्यक छ ।
यहाँ खाली एउटा टोपीको मात्र कुरा रहने नेपाली महिला र पुरुष दुवैले लगाउने विविध पहिरन जो आफैमा मौलीक छन् त्यस्ता पहिरनलाई जीवन्त राख्नुपर्ने आवश्यकता छ ।
नेपाल विविध जात, जाती र कला संस्कृति भएको देश हो । यहाँ आफ्नै रहन सहन र पहिरन छन् । यि सबैलाई बचाईराख्न सके नेपाल एउटा फरक पहिचान र परिचय भएको देश भनेर विश्वमा चिनाउन सकिनेछ । विकासका कामलाई जति अगाडि बढाएपनि आफ्नो पहिरन, पहिचान र परिचय, कला संस्कृति, रीति रिवाज, चालचलन, रहनसहन लगाएतका कुरालाई भुल्न थाल्यौं भने यसले हामीलाई सधै पछुतो मात्र दिने छ ।
जनवरी १ तारिखलाई विदेशीहरुले नयाँ वर्ष भनेर मनाउँछन् भने नेपाली युवाहरुले टोपी दिवस भनेर मनाउन थालेका छन् । यसमा आ–आफ्नै तर्क र वहस जे भएपनि आ–आफ्नो स्थानमा दुवैको महत्व देखिन्छ । देखासिखी गरेर आफ्नो सबैकुरा विर्सने भन्दा पनि आफ्नोपनलाई नछाडेरै पनि धेरै कुरा गर्न सकिन्छ ।