१७ बैशाख, २०८१ सोमबार

03:04:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल सरकारले लिने इन्धन कर कति ?

Nepal Business

१० जेठ, २०७९

खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय पुर्‍याइएको छ।

नेपाल सरकारले लिने इन्धन कर कति ?

काठमाण्डौं । नेपाल आयाल निगमले १ सय १७ रुपैयाँ १८ पैसामा किनेको पेट्रोल जनतालाई १ सय ८० रुपैयाँमा बेच्दै आएको छ। सरकारले आइतबार पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटरमा १० रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यास सिलिन्डरमा २ सय रुपैयाँ बढाएको थियो।

प्रधानमन्त्री बाबुराम भट्टराईको समयमा बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर थपिएको थियो। पछि सोही करलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाद्धारा ५ रुपैयाँ थपेर पूर्वाधार कर भन्दै प्रतिलिटर १० रुपैयाँ बनाइएको थियो।

हाल पेट्रोल प्रतिलिटर १ सय ८० तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पुगेको छ । हवाई इन्धन लिटरको १ सय ६३ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय पुर्‍याइएको छ। मूल्य १० दिनमा २० रुपैयाँ बढाइएपछि सर्वत्र सरकारको आलोचना भइरहेको छ। 

कति छ कर ?

नेपालमा पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा, एक सिलिन्डर ग्यासमा ३ सय २७ रुपैयाँ ३७ पैसा कर उठाउने गरिएको छ। त्यस्तै, डिजेलमा प्रतिलिटर ४५ रुपैयाँ ९१ पैसा र मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा उपभोक्ताले कर तिर्ने गरेको छन।

पेट्रोलमा सरकारले भन्सार र प्रज्ञापनपत्र शुल्क गरेर २५ रुपैयाँ २३ पैसा असुल्ने गरेको छ।

यसैगरी सडक मर्मतसम्भार शुल्कका नाममा ४ रुपैयाँ, प्रदूषण शुल्क १ रुपैयाँ २५ पैसा, पूर्वाधार कर १० रुपैयाँ, मूल्य अभिवृद्धि कर २० रुपैयाँ ७१ पैसा, मूल्य स्थिरीकरण कोष शुल्क १ रुपैयाँ ८० पैसा उठाउने गरेको छ।

यसका अतिरिक्त ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बीमा खर्च, प्राविधिक नोक्सानी, विक्रेताको खर्च तथा नाफासमेत गरी १४ रुपैयाँ २३ पैसाको भार पनि उपभोक्तालाई थपिने गरेको छ।