२५ बैशाख, २०८१ मंगलबार

04:03:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार राताम्य बन्दा लगानीकर्ता निरुत्साहित, कसरी थामिएला बजार ?

केशव आचार्य ।

५ जेठ, २०७९

करोडौको लगानी डुबिरहेको छ, लगानीकर्ता निराशामा डुबिरहेका छन् ।

आवधिक निर्वाचनको चहलपहल शुरुभएसँगै ओरालो लागेको सेयर बजार उकालो लाग्न सकेको छैन । बजार राताम्यै छ । करोडौको लगानी डुबिरहेको छ, लगानीकर्ता निराशामा डुबिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले ल्याएको नीति सेयर बजार नियन्त्रण नीति भएकोले यस नीतिलाई हटाउन लगानीहरु माग गरिरहेका छन् । सोही अनुरुप लगानीकर्ताहरुले केन्द्रीय बैंकलाई सेयर लगानीमा ४ करोड तथा १२ करोडको सीमा हटाउन माग गरेका छन् । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गर्दै सेयर लगानीकर्ताका दुई संघ नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले ४ करोड एउटा बैंक र १२ करोडसम्मको सेयर कर्जा ऋणको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ४ करोड तथा १२ करोडको सीमा लगाएको थियो । पछि सेयर बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताहरु केन्द्रीय बैंकलाई गुहार्न पुगेका छन् ।

आर्थिक वर्ष २०७९/०८० को १ साउनदेखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन पनि लगानीकर्ताका संघले अनुरोध गरेका छन् ।

४/१२ को क्याप नै वर्तमान बजार समस्याको जड हो भने राष्ट्र बैक यसमा सहजीकरण गर्न तयार रहनु पर्दछ ।

लगानीकर्ताहरुले मर्जर र एक्युजिसनले सेयर कारोबार रोकिँदा आम लगानीकर्ताको चल–अचल सम्पत्ति बन्धक भई नोक्सानी भएको तथा राज्यले पाउने राजस्वमा समेत नकारात्मक असर परेको भन्दै उक्त व्यवस्था पनि संशोधन गर्न माग गरेका छन् । 

हाल बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभाको लागि दाखिल खारेजी गर्ने व्यवस्था गरेजस्तै गरी केही सीमित अवधिको लागि मात्रै कारोबार रोक्का रहने व्यवस्था गर्नुुपर्ने लगानीकर्ताको मागपत्रमा उल्लेख छ ।

दुवै संघले देशमा विद्यमान तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना भएकोले राष्ट्र बैंक जस्तो संस्थाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

तर लगानीयोग्य तरलताको समस्या तथा निक्षेप कर्जा अनुपात पु¥याउन संघर्षरत बैंक तथा वित्तीय संस्थाहरुले हाल थप कर्जा दिन सक्ने अवस्था छैन ।

यसै साता स्थानीय तहको आवधिक निर्वाचनमा खर्च भएको पैसा बैंकिङ प्रणालीमा फिर्ता आउन थालेकोले निक्षेप थपिदै गएको देखिन्छ । यसले कर्जा सहजीकरण हुनसक्छ तर त्यसले कर्जा थप गर्न सक्ने अवस्था अझै बन्न सकेको छैन । 

यस परिस्थितिमा ठूलो आर्थिक कृयाकलाप हुने सेयर बजारलाई थप व्यवस्थित गराउन राष्ट्र बैंकको प्रमुख भूमिका रहन्छ । यतिखेर लगानीकर्तालाई नीतिगत राहतको जरुरी छ ।

४/१२ को क्याप नै वर्तमान बजार समस्याको जड हो भने राष्ट्र बैक यसमा सहजीकरण गर्न तयार रहनु पर्दछ ।