७ मंसिर, २०८१ शुक्रबार
01:12:00 AM
१ जेठ, २०७९
अध्यक्ष सिलवालले बीमा गरिब, विपन्न, न्यून आय भएका तथा जोखिमयुक्त जनताको तहसम्म पुर्याउन सबैलाई निर्देशन दिनुभएको
काठमाण्डौं । अर्थमन्त्री जनार्दन शमाले बीमा कम्पनीका लगानीकर्ताहरुलाई बीमालाई व्यापारको रुपमा मात्र नहेरी गरिब, विपन्न र न्यून आय भएका जनताले पाउने अनिवार्य सेवाको रुपमा समेत बुझ्नुपर्ने बताउनुभएको छ ।
बीमा समितिको ५४ औं बार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै आइतबार उहाँले सोही अनुसार घर–घरमा बीमा व्यवसाय पुर्याउने राज्यको नीतिप्रति प्रतिबद्ध हुनुपर्ने बताउनुभएको हो ।
उहाँले बीमा लगानीकर्ताहरुको लागि व्यापार व्यवसाय मात्रै नभई राज्य नियन्त्रित सेवा समेत भएको कुरा बुझाउन सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय स्तरमा प्रतिपादित बीमाका नवीनतम् सिद्धान्त अवलम्बन गर्दै सरल एवम् सहज रूपमा समाजमा आर्थिक रूपले पछि परेका विपन्न वर्गलाई समेट्ने गरी अघि बढ्नुपर्छ । ’
उहाँका अनुसार नागरिकको आवश्यकता अनुरूप बीमा गर्ने व्यवस्था मिलाउन र गाउँघरमै जीवन तथा निर्जीवन बीमा गर्ने र स्थानीय स्तरमै दाबी भुक्तानी पाउने व्यवस्था गर्न बीमा समिति अझ बढी क्रियाशील हुनुपर्दछ ।
सोही अवसरमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाको नियमन अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष सिलवालले बीमा गरिब, विपन्न, न्यून आय भएका तथा जोखिमयुक्त जनताको तहसम्म पुर्याउन सबैलाई निर्देशन दिनुभएको छ । १० वर्षमा बीमा क्षेत्रलाई वित्तीय क्षेत्रकै अग्रणी क्षेत्रको रुपमा विकास गर्ने गरी काम गर्न सबैलाई उहाँले निर्देशन दिनुभयो ।