७ मंसिर, २०८१ शुक्रबार

07:48:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर धितो कर्जा किन घट्यो ?

Nepal Business

२९ बैशाख, २०७९

राष्ट्र बैंकको तथ्यांक अनुसार १ महिनामा सेयर कर्जा १ अर्ब २८ करोड रुपैयाँले घटेको

सेयर धितो कर्जा किन घट्यो ?

काठमाण्डौं । सेयर धितो कर्जा घटेको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा ४–१२ करोडको सीमा लागू गरेपछि धितो कर्जा केही घटेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार १ महिनामा सेयर कर्जा १ अर्ब २८ करोड रुपैयाँले घटेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले ९४ अर्ब ५९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

फागुन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले ९५ अर्ब ८० करोड २२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । गत असार मसान्तको तुलनामा भने चैत महिनासम्म आइपुग्दा सेयर कर्जा प्रवाह ११ प्रतिशतले घटेको राष्ट्र ैंकले जनाएको छ । 

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए ।

सेयर धितो कर्जा १ करोडभन्दा माथिको धेरै घटेको छ भने ५० लाखभन्दा माथिको कर्जा सामान्य घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तर ५० लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा भने गत आर्थिक वर्षको तुलनामा अझै बढेको छ ।

असार मसान्तमा १ करोड रुपैयाँभन्दा माथि ७३ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएकोमा चैत मसान्तसम्म आइपुग्दा २०.३ प्रतिशतले घटेर ५८ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेदेखि सेयर बजार निरन्तर रुपमा घटिरहेको छ। 

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट लगानीकर्ताले एक वर्षमा अधिकतम १२ करोड रुपैयाँ मात्र सेयर कर्जा लिन पाउने सीमा तोकिदिएको छ । साथै, एउटा बैंकबाट अधिकतम ४ करोड मात्र सेयर कर्जा लिन पाइन्छ ।

लगानीकर्तालाई प्रत्यक्षरुपमा कस्ने यस नीतिका कारण सेयर धितो कर्जा प्रवाह महिनैपच्छे घट्दै गएको देखिएको छ । लगानीकर्ताका अनुसार राष्ट्र बैंकले सेयर धितो कर्जामा ४÷१२ को ‘क्याप’ लगाउनु अर्थपूर्ण नरहेको बताउछन् ।

लगानीकर्ताहरुले यस नीतिमा पुनरावलोकन गर्न माग गर्दै आएका छन्।  तर यस विषयमा राष्ट्र बैंकले चासो दिएको छैन । यो नीति आएदेखि सेयर बजार प्रभावित भएको लगानीकर्ताहरुको भनाइ छ।