७ मंसिर, २०८१ शुक्रबार
07:17:09 PM
१६ बैशाख, २०७९
२९ वटा फण्ड मध्ये ७ वटा फन्डहरुको मात्र सेयर बजारमा लगानी वृद्धि भएको छ भने बाँकी सबैको घटेको
काठमाण्डौं । चैतमा लगातार सेयर बजारमा गिरावट आउदा त्यसको असर म्युचुअल फन्डहरुको पोर्टफोलियामा देखिएको छ । चैत महिनामा धितोपत्र बजारमा सक्रिय २९ वटै म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ ।
२९ वटा फण्ड मध्ये ७ वटा फन्डहरुको मात्र सेयर बजारमा लगानी वृद्धि भएको छ भने बाँकी सबैको घटेको छ । तर समग्रमा हेर्दा अधिकांश म्युचुअल फन्डहरु नोक्सानमा छन् ।
फन्डहरुको बैंक मौज्दातमा समेत गिरावट आएको छ । म्युचुअल फन्डहरुको अधिकांश लगानी सेयर बजारमा हुने गरेका कारण सेयर बजारको उतारचढावले म्युचुअल फन्डहरुमा पनि प्रत्यक्ष असर पर्ने गर्छ ।
चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै न्याभ सानिमा इक्विटी फन्डको रहेको छ । यसको न्याभ १६ रुपैयाँ ०४ पैसा रहेको छ । तर यसअवधिमा यसको न्याभ ८४ पैसाले घटेको हो ।
एक महिना अवधिमा सबै फन्डको न्याभ घटेको छ । यता, ८ म्युचुअल फन्डको न्याभ भने १० रुपैयाँभन्दा कम रहेको छ ।
सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको सेयर बजारमा लगानी रहेको छ । यसअवधिमा यो फन्डले १ अर्ब ५३ करोड ७४ लाख ९४ हजार रुपैयाँभन्दा बढी सेयर बजारमा लगानी गरेको छ ।
तर फागुन महिनाको तुलनामा चैतमा यसको सूचीकृत कम्पनीको सेयरमा लगानी ६.६७ प्रतिशतले घटेको छ । यसअवधिमा २२ फन्डको सेयर बजारमा लगानी घटेको छ भने ७ फन्डको सेयर बजारमा लगानी बढेको छ ।
यस्तै सबैभन्दा धेरै बैंक मौज्दात एनआइसी एसिया सेलेक्ट ३० फन्डको रहेको छ । यस अवधिमा बैंक मौज्दात ८६ करोड १६ लाख ८७ हजार रुपैयाँभन्दा बढी छ ।
अघिल्लो महिनाको तुलनामा यसको बैंक मौज्दात ३.९४ प्रतिशतले बढेको हो । यसअवधिमा १६ फन्डको बैंक मौज्दात घटेको छ भने १३ फन्डको बैंक मौज्दात बढेको छ ।
यस्तै चैत मसान्तसम्ममा सबैभन्दा धेरै कुल नाफा आर्जन गर्नेमा एनआइसी एसिया ग्रोथ फन्ड रहेको छ । यसअवधिमा यसले २८ करोड ४० लाख ९१ हजार रुपैयाँभन्दा धेरै कुल नाफा कमाएको छ । तर यो अघिल्लो महिनाको तुलनामा १४.२६ प्रतिशतले कम हो ।