८ जेठ, २०८१ मंगलबार

06:25:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आफ्नो हात फैलाउँदा अरुको नाकमा ठेस नपुगोस् : राष्ट्रपति भण्डारी

१० पुस, २०७८

आफ्नो हात फैलाउँदा अरुको नाकमा ठेस नपुगोस् : राष्ट्रपति भण्डारी

काठमाडौँ, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा मनाइने विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वले सबै नेपालीमा आपसी सद्भाव सहिष्णुता र एकताको भावनालाई सवल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

येशु ख्रीष्टको जन्मदिन (ख्रीष्टमस) को अवसरमा राष्ट्रिय ख्रीष्टियन महासङ्घद्वारा आज राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विविधताबीच एकता र सद्भावको गौरवपूर्ण परम्परालाई हामीले अक्षुण राख्नुपर्नेमा जोड दिनुभयो । 

“हामीले आफ्नो हातलाई आफूलाई मनलागे जति फैलाउन स्वतन्त्र छौँ, तर त्यसले अरुको नाकमा ठेस पुग्नुहुँदैन भन्ने कुरा पनि सबैले विचार गर्नुपर्दछ, यसले नै आपसमा सद्भाव र सहिष्णुतालाई कायम गर्दछ ।”

उहाँले सांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुकको विविधता कमजोरी नभई शक्ति भएको र यही नै मुलुकको मौलिक राष्ट्रिय पहिचान भएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “हामीले आफ्नो हातलाई आफूलाई मनलागे जति फैलाउन स्वतन्त्र छौँ, तर त्यसले अरुको नाकमा ठेस पुग्नुहुँदैन भन्ने कुरा पनि सबैले विचार गर्नुपर्दछ, यसले नै आपसमा सद्भाव र सहिष्णुतालाई कायम गर्दछ ।”

आआफ्ना फरक आस्था र विश्वास बोकेका भए पनि हामी सबै नेपाली भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले फरक आस्थाको कारणबाट देशप्रतिको माया र नागरिकको दायित्व बोधमा कुनै तलमाथि हुन नसक्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको माध्यमबाट यस समुदायले मुलुकको विकासमा गरेको योगदानप्रति धन्यवाद दिनुभयो ।

आआफ्नो आस्था विश्वास कायम राख्दै आमनागरिकको पहिचानलाई माथि उठाउन सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर हुनुपर्नेमा उहाँको जोड थियो । राष्ट्रपति भण्डारीले फरक आस्था र विश्वास बोकेका नागरिकप्रति राज्यका तर्फबाट समभाव र समव्यवहार हुनुपर्ने बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा हुने गरी प्रगति पथमा अघि बढ्नुपर्दछ भन्नुभयो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले धर्मनिरपेक्षता मुलुक नेपालमा सामाजिक र धार्मिक सद्भाव कायम राख्दै समृद्ध देश बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको विकासमा लाग्नसमेत सबैलाई अनुरोध गर्नुभयो ।