८ जेठ, २०८१ मंगलबार

08:32:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेला लगाउन ८ करोड खर्च

९ पुस, २०७८

मेला लगाउन ८ करोड खर्च

पौष ९, २०७८

ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा मेलाका लागि पनौती नगरपालिकाले गत वर्ष पाँच करोड र यस वर्ष तीन करोड बजेट छुट्याएको छ। उक्त बजेटबाट पनौतीमा भौतिक पूर्वाधारलगायतको व्यवस्थापन तयारी भइरहेको नगरले जनाएको छ । मेलाको तयारी तीव्ररुपमा भइरहेको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो । नगरले गत वर्षदेखिनै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतिर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो । “विनियोजित बजेटमा अपुग भए नगरबाटै खर्च गर्ने व्यवस्था मिलाइनेछ”, न्यौपानेले भन्नुभयो । उहाँका अनुसार कोरोना भाइरस् सङ्क्रमणको उच्च जोखिम नभए ५० लाख भक्तजन तथा दर्शनार्थीले पनौतीको मेला अवलोकन गर्ने अनुमान गरिएको छ । 


मकर सङ्क्रान्तीबाट सुरुहुने मेलाका लागि नेपालका मात्र नभई उत्तर भारत प्रयागबाटसमेत तीर्थालु आउने गर्छन् । नगरप्रमुख न्यौपानेका अनुसार हाल ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाई एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत नगर ऐतिहासिक बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनलगायतका व्यवस्थापनको काम भइरहेको छ ।

हरेक बाह्रवर्षमा महिनाभर लाग्ने ‘मकर मेला’ सभ्य र भव्यरुपमा सञ्चालन गर्ने तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवद्र्धनका कार्यक्रमसमेत थालिएको छ । नगरले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङ्गटीले छाउने, रथको आवश्यक मर्मत गरी तयारी अवस्थामा राख्ने, सडक बत्तीको पर्याप्त व्यवस्था गर्नेछ । 

source: RSS