१५ बैशाख, २०८१ शनिबार

11:10:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खप्तड जोड्ने सिलगढी–बग्लेक सडक तोकिएकै समयमा सक्नु, नत्र कारवाहीमा परिएला !

Nepal Business

८ पुस, २०७८

खप्तड जोड्ने सिलगढी–बग्लेक सडक तोकिएकै समयमा सक्नु, नत्र कारवाहीमा परिएला !

सुदूरपश्चिम, ८ पुस । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–बग्लेक सडकको कालोपत्रको काम तोकिएको समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । 

मुख्यमन्त्री भट्टले तोकिएको समयमा कालोपत्रको काम नसकिए कारवाही गरिने चेतावनीसमेत दिनुभएको छ

उक्त सडक निर्माण कार्यको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुग्नुभएका मुख्यमन्त्री भट्टले तोकिएको समयमा कालोपत्रको काम नसकिए कारवाही गरिने चेतावनीसमेत दिनुभएको छ । अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले भन्नुभयो, “अहिले कोरोना पनि खासै छैन, तोकिएको समयमा काम सक्नुस् बहनाबाजी गर्न पाइँदैन, काम नसके कारवाही हुन्छ ।”

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटकको सजिलोका लागि तथा यहाँका नागरिकको आयस्तर वृद्धिका लागि उक्त सडक कालोपत्र गर्न बजेट विनियोजन भएकाले तोकिएको समयमै काम सक्नुपर्ने मुख्यमन्त्री भट्टले निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु ४० करोड बजेट विनियोजन गरी काम सुरु भएको हो । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको उक्त सडक हेर्ने जिम्मा पाएका इञ्जिनीयर राजेन्द्र चौधरीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “तोकिएको समयमै काम सक्छौँ, ढिला सुस्ति भएको छैन् ।” सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिनु भएको थियो ।

विगतमा उक्त सडक वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए ।

उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएको छ । सडक कालोपत्रको जिम्मा लिएसँगै कामले तीब्रता लिएको निर्माण कम्पनीको दाबी छ । विगतमा उक्त सडक वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए ।

अब सडक कालोपत्र हुन थालेपछि पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक सञ्जाल नभएकै कारण खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुँदै छ, पर्यटक भित्र्याउन सहज हुने छ ।” रासस