७ मंसिर, २०८१ शुक्रबार
12:17:48 AM
८ बैशाख, २०७९
आठ वर्ष पहिले उहाँले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ महिलाले रोजगारी पाउनुभएको छ
इलाम,
इलामको कोशेली ललिपप धेरैको रोजाइमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किंदा कोसेलीको रुपमा प्रायः लिएर जाने गर्दछन् । निकै स्वादिलो मिठाईका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारीसमेत पाएका छन् ।
ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिलाले आत्मनिर्भर मात्र हैन धेरै महिला तथा पुरुषलाई रोजगारी दिएकासमेत छन् ।
ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिलाले आत्मनिर्भर मात्र हैन धेरै महिला तथा पुरुषलाई रोजगारी दिएकासमेत छन् ।
धेरै महिला तथा पुरुष जागिरको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमा समेत जाने गर्दछन् तर इलाममी दीपा गुरुङले धेरै महिलालाई रोजगारी दिनुभएको छ ।
सानो लगानीबाट सुरु गरेको ललिपप उद्योगबाट धेरै महिला दिदीबहिनीलाई रोजगारी दिन सफल हुनुभएको छ । इलाम तिल्केनीकी दीपाको दैनिकी अहिले निकै व्यस्त छ ।
आठ वर्ष पहिले उहाँले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ महिलाले रोजगारी पाउनुभएको छ । बिहान ४ बजेदेखि राति अबेरसम्म उहाँ काममा नै व्यस्त रहनुहुन्छ ।
उहाँको उद्योगबाट ललिपप र बम्बैसन बन्ने गर्दछ । इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौँसम्म पुग्ने गरेको छ । छ जनाबाट सुरु भएको उहाँको उद्योगमा अहिले ४६ महिलाले दैनिक काम गर्छन् । रु पाँच लाखबाट सुरु भएको उहाँको उद्योगले अहिले वार्षिक रु ३५ लाखसम्म कमाइ गर्दै आएको छ ।
त्यस्तै इलाम बजार नजिकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग स्थापना गर्नुभएको हो । उहाँले पनि ३४ कामदार राखेर सो उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।
रु चार लाखको लागतबाट सुरु भएको व्यवसायबाट राम्रै आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उहाँहरु आत्मनिर्भरसमेत बन्दै जानुभएको छ । उद्योगमा सबैलाई कामको बाँडफाँट गरिएको छ ।
मिठाईका परिकारमा लेबल लगाउने, स्टिकर टास्ने, प्याकेजिङ गर्ने काममा महिला दिदीबहिनीले रोजगारी पाउनुभएको छ । गाउँबाट बालबच्चा पढाउन सदरमुकाम बसेका महिलासमेत सो उद्योगबाट स्वरोजगार बन्दै जानुभएको छ । उहाँहरुले श्रीमान् वा आफन्तबाट पैसा माग्न नपर्ने गरेको बताउनुभएको छ ।
बरु उल्टै परिवारमा पैसा सरसहयोग गर्न पाएको भन्दै खुसीसमेत व्यक्त गर्नुभएको छ ।
दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ । ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ । १५ वर्ष पहिले सामान्यरुपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।