१७ बैशाख, २०८१ सोमबार

12:56:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’

Nepal Business

३ बैशाख, २०७९

नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्य

स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’

वालिङ,
स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा जोड दिँदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइएको उहाँले बताउनुभयो । 

नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइएको उहाँले बताउनुभयो । 

“स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गरी निर्माण गरिएका तानका कपडा, स्वीटर, गरगहना, उपहार अन्य हस्तकलाका सामग्री कोसेली घरमा राखेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादन भएका सामग्रीको प्रचारप्रसार हुनुका साथै बजारीकरणका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वासमा छौँ ।”

वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने क्रममा खाद्य तथा तरकारी र मासुजन्य उत्पादनलाई व्यवस्थित गर्नका लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थालाई जिम्मा दिइएको छ । 

सामूहिक वा व्यक्तिगत रूपमा स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी सामग्री उत्पादनमा जोड दिन नगरपालिकाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

“नगरभित्रका विभिन्न ठाउँमा सामूहिक वा व्यक्तिगत रूपमा स्थानीय स्रोतसाधनको उपयोग गरी हस्तकलाका सामग्रीहरू उत्पादन र व्यवसायीकरणमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “सामूहिक वा व्यक्तिगत रूपमा उत्पादन भएका सामग्रीको प्रचारप्रसार र बजारीकरणमा ध्यान दिँदै नगरपालिकाले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याएको हो ।”

विशेष गरी नगरपालिका सामग्री उत्पादन गर्ने उत्पादक र उपभोग गर्ने उपभोक्ताबीचमा समन्वयकारी भूमिकामा रहेको छ । 
पारदर्शी सिसाबाट निर्मित कोसेली घरमा उत्पादन गर्ने संस्था वा व्यक्तिको नाम, सम्पर्क नम्बर, वस्तुको मूल्य देखिने गरी राखिएको छ । 
उत्पादक र उपभोक्ताबीचमा समन्वयकारी भूमिका खेलेर नगरपालिकाले दुई पक्षलाई जोडिदिने काम गरेको स्वस्तिका वैदिक हस्तकला उद्योगकी सञ्चालक दुर्गा न्यौपाने बताउनुहुन्छ ।

“आफूजस्तै अन्य उत्पादकले उत्पादन गरेको सामग्री कोसेली घरमा राखेर नगरपालिकाले प्रचारप्रसारसँगै बजारीकरणका लागि निक्कै राम्रो काम गरेको छ”, व्यवसायी न्यौपानेले भन्नुभयो, “यस कार्यले आगामी दिनमा अझै नयाँनयाँ सामग्री उत्पादन गर्नतर्फ ऊर्जा मिलेको छ ।”

नगरपालिकाभित्रका विभिन्न ठाउँबाट तथा अन्यत्रबाट नगरपालिकाको भ्रमणमा आउनेले नगरपालिका परिसरमा निर्माण गरिएको कोसेली घरमा राखिएका सामग्रीको अवलोकन गर्ने र मन परेका सामग्री खरिद गरेर लैजाने गरेका छन् ।