२१ बैशाख, २०८१ शुक्रबार

02:54:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने

३ बैशाख, २०७९

काठमाडौँ विमानस्थलको विकल्पका रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने

सिबी अधिकारी, (रासस)  । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले  कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँको विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।     

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ । त्यसैको प्रतिफलस्वरुप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि प्राधिकरण लागिपरेको प्राधिकरणले जनाएको छ । 

विमानस्थलको आधुनिकीकरण र व्यवसायीकरणका लागि पर्यटनमन्त्री आलेले सहजीकरण गरिदिनुभएको छ । मन्त्री आलेकै पालामा टिआइए २४ घण्टा सञ्चालनमा आउन लागेको हो । “पर्यटनमन्त्री आलेको बोर्ड बैठकमा पटकपटकको निर्देशनबमोजिम प्राधिकरणले आन्तरिक गृहकार्य गरेर यो योजना सार्वजनिक गरेको हो”, सञ्चारकर्मीसँग कुरा गर्दै महानिर्देशक अधिकारीले भन्नुभयो ।

कोभिडपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष पनि हो । हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि पनि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ । साथै यसको व्यवस्थापनमा चुनौती उत्तिकै छन् । त्यसैले विमानस्थलको प्रभावकारी व्यवस्थापनका लागि आफूहरु जुटिरहेको महानिर्देशक अधिकारीले बताउनुभयो । 

यसअघि २०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले टिआइए २१ घण्टा सञ्चालनमा ल्याउनुभएको थियो । बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएको उक्त विमानस्थललाई तीन घण्टा थपेर २१ घण्टासम्म सञ्चालनमा ल्याउनुभएको थियो ।

यद्यपि टिआइएको धावनमार्गको जीर्णोद्धारको काम सुरु भएपछि पुनःउडान सञ्चालन अवधि घटेको थियो । त्यसपछि कोभिडका कारण देशभर बन्दाबन्दी लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल सञ्चालन समय घटाइएको थियो ।

कूल ९२ लाख यात्रु क्षमताको टिआएमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्नसक्ने अवस्था थिएन । काठमाडौँ विमानस्थलको विकल्पका रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।