१० मंसिर, २०८१ सोमबार
08:18:17 AM
२९ चैत, २०७८
काठमाण्डौं । विभिन्न ५ कम्पनीहरुको वैशाख महिनामा साधारण सभा हुने भएको छ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल फाइनान्स कम्पनीको वैशाखमा साधारण सभा हुन लागेको हो ।
साधारण सभामा ४ कम्पनीको लभांश प्रस्ताव रहेको छ भने बाँकी एउटा कम्पनीको लगानीकर्ताहरूको भने हात खाली हुनेछ ।
१. नेपाल फाइनान्स कम्पनी
नेपाल फाइनान्स कम्पनी लिमिटेडको २९ औँ वार्षिक साधारण सभा वैशाख ३ गते शनिबार होटल एल्लो प्यागोडा कान्तिपथ काठमांडौमा हुनेछ छ ।
कम्पनीले चैत्र १७ गते नै साधारण सभा प्रयोजनका लागि बुकक्लोज गरिसकेको छ।
चैत्र १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । तर कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । त्यसैले कम्पनीको सेयरधनीहरूको हात खाली रहनेछन् ।
२. आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
कम्पनीको २४ औँ वार्षिक साधारण सभा वैशाख ९ गते काठमाण्डौंको लैनचौरमा हुनेछ।
सभामा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गरि २ अर्ब ५० करोड पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र २५ गते बुकक्लोज गरिसकेको छ ।
यस सभामा पनि चैत्र २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा आगामी वैशाख १० गते संस्थाको प्रधान कार्यालय धुलिखेलको काभ्रेपलाञ्चोकमा हुनेछ ।
सभामा संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र २३ गतेदेखि वैशाख १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । सो साधारण सभामा पनि चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्र भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।
४. प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वैशाख ११ गते २० औँ वार्षिक साधारण सभा हुने भएको छ । कमपनीको साधारण सभा विरगञ्जको लर्डस पर्सामा हुँदैछ ।
कम्पनीले पनि सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरि कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र २४ गते बुकक्लोज गरिसकेको छ ।
चैत्र २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
५. एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
काठमाण्डौंस्थित अग्रवाल भवन भवनमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औँ वार्षिक साधारण सभा वैशाख २१ गते हुँदैछ ।
सभामा सञ्चालक समितिले निर्णय गरे अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १२ गते कम्पनीले बुकक्लोज गर्नेछ ।
यस्तै वैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
एभरेष्ट इन्स्योरेन्सको सेयर भने अब किन्दा पनि लाभांश प्राप्त गर्न सकिनेछ ।