७ मंसिर, २०८१ शुक्रबार
07:05:02 AM
१७ चैत, २०७८
आज (बिहीबार) २२८ वटा कम्पनीको ३७ लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८९ करोड एक लाख ६४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज (बिहीबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा पुगेको छ । बिहीबार नेप्से ०.९३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ४७५.४७ विन्दुमा पुगेको छ ।
अघिल्लो कारोबारको दिन बुधबार नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार २ अर्ब २५ करोडको कारोबार भएको बजारमा आज (बिहीबार) २२८ वटा कम्पनीको ३७ लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८९ करोड एक लाख ६४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार इमर्जिङ नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार इमर्जिङ नेपाल कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यसदिन कम्पनीको ९ करोड २३ लाख ८४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, यूनियन हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य बिहीबार सबैभन्दा धेरै घटेको छ ।