१८ मंसिर, २०८१ मंगलबार
10:57:47 PM
१६ चैत, २०७८
तोरी फूलको मह, चिउरी फूलको मह, लिचीको मह, फापरको मह लगायत अन्य मह पनि रहेको ।
काठमाण्डौं– महालक्ष्मीलाई यतिकै बस्न मन पर्दैन थियो । केहि न केहि गर्नैपर्ने । ‘मेरो दिदिहरु घरमै बस्ने, भनेको मात्र गर्ने’, आफ्नो विगत सुनाउँदै उहाँले भन्नुभयो, ‘तर मलाई फुर्सद भयो भने केहि सिक्न जाउँ, केहि गरौँ सिकौ भन्ने हुन्थ्यो ।’
उहाँ हुनुहुन्छ, ‘मौरी पालन तथा अनुसन्धान केन्द्र’ का सञ्चालक तथा नेपाल महिला उद्यमी महासंघका महासचिव ।
महालक्ष्मीमा नयाँ कुरा सिक्ने स्वभाव थियो नै त्यसमा जिद्दी पनि । जसका कारणले उहाँलाई आमाले भन्नुहुन्थ्यो, ‘यो केटा हुनुपथ्र्याे ।’ जिद्दी स्वभावकै कारण महालक्ष्मीबाट उहाँ उद्यमी महालक्ष्मी श्रेष्ठ हुनुभयो ।
आफ्नो नाम अघि ‘उद्यमी’ जोड्न निकै संर्घष गरेको श्रेष्ठ बताउनुहुन्छ । काठमाण्डौंको रैथाने परिवार । पढाइलेखाइमा कुनै कमी भएन ।
चाहे जति परिवारले पढाए । उहाँले पनि वनस्पति विषयको पढाइमा मास्टर गर्नुभयो । ‘मेरो परिवारले पढाउनुपर्छ भन्ने सोचले मात्र पढाउनुभयो । पढेपछि छोरी आत्मनिर्भर हुन्छ भनेर होइन’, उहाँले भन्नुभयो ।
महिला आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ भन्ने ज्ञान आफ्नो परिवारबाटभन्दा पनि बाहिरबाट आएको उहाँ बताउनुहुन्छ । आफूले महिला आर्थिक रुपमा सक्षम नहुँदा पाएको दुख समाजमा देखेको बताउनुभयो ।
आफ्नो परिवारलाई छोरीले घरबाहिर काम गरेको मन नपर्ने उहाँले सुनाउनुभयो । ‘उहाँहरुले हामीलाई कस्तो वातावरणमा हुर्काउनुभयो भने महिला भएर घर गृहस्ती गर्नुपर्छ, केहि गर्यो भने केटा जस्तो भएर हिड्नु हुँदैन भन्ने । घर परिवारलाई राम्ररी हेर्नुपर्छ, घर पहिलो प्राथमिकतामा हुनुपर्छ’, महालक्ष्मीले भन्नुभयो, ‘यस्तो वातावरणमा हुर्केको म बाहिर काम गर्ने पहिलो महिला हुँ । परिवारबाट कोहि पनि महिलाले काम गर्नुभएन ।’
महालक्ष्मीले काम गर्दा उहाँका परिवारले काम नगर पनि भन्नु भएन । तर सोच भने नगरेको भए हुन्थ्यो भन्ने नै थियो । उहाँले परिवारको सोच विपरित करिब पाँच वर्ष माहुरी पालन तथा मह सम्बन्धी प्रोजेक्टमा काम गर्नुभयो ।
त्यस प्रोजेक्टबाट महालक्ष्मीले मह व्यवसाय के हो ? माहुरी पालन र महको कतिको महत्व छ ? विदेशमा यसको माग कस्तो छ ? यो सबै कुरा सिक्ने मौका पाउनुभयो । यसका साथै माहुरीले कुन–कुन फूलबाट रस ल्याउछन् भन्ने बारेमा पनि अनुसन्धान गर्नुभयोे ।
काम गर्दै गर्दा उहाँलाई मह तथा माहुरीका विषयमा धेरै ज्ञान भयो । वनस्पतिका बारेमा त उहाँले अध्ययन नै गर्नुभएको थियो । जसले सुनमा सुगन्ध थप्ने काम गर्यो ।
‘मौरी र वनस्पतिको सम्बन्ध नङ र मासु जस्तै हुन्छ । काम गर्दै–गर्दा मलाई के लाग्यो भने मैले यो क्षेत्रमा धेरै अनुभव हासिल गरिसके । नेपालमा त यसको कति धेरै सम्भावना छ । यदि मैले यो महको क्षेत्रमा काम गरेन भने मेरो नलेजहरु सबै खेर जानेभयो’, उहाँले भन्नुभयो, ‘यसलाई यहि फिल्डमा लगाउनुपर्छ भनेर मैले एकदमै सानो स्केलमा मह पसलको काम सुरु गरे ।’
वि.स.२०५२ सालमा महालक्ष्मीको व्यवसायिक यात्रा सुरु भयो । उहाँले करिब एक लाखको लागतमा मह व्यवसाय सुरु गरेको बताउनुभयो । व्यवसाय सानो भए पनि चुनौती भने ठूलो रहेको उहाँ सुनाउनुहुन्छ ।
एउटा क्षेत्रबाट अर्को क्षेत्रमा जोडिदा आफूसँग ज्ञान, सीप हुँदा–हुँदै पनि समस्या आइपर्ने उहाँ बताउनुहुन्छ ।
‘त्यो समयमा प्याकेजिङ कसरी गर्ने, सामान कहाँबाट ल्याउने केहि थाहा थिएन । सिकाउने पनि कोहि थिएन । मार्केटिङको कुरा पनि थाहा थिएन । मौरी पालकहरुसँग मेरो रिलेशन थियो तर त्यो रिलेशन मेन्टेन गर्न पनि गाह्रो भयो । फिल्ड जान पनि गाह्रो । चुनौतीले त घेरेकै थियो’, उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, ‘मैले विहे अघि नै व्यवसाय सुरु गरिसकेको थिए । मेरो सुरुवाती लगानी १ लाख रुपैयाँको थियो । एक लाख रुपैयाँले व्यवसाय सुरु गर्दा धेरै सानो स्केलबाट सुरु गरेको भन्ने लाग्थ्यो । तर निरन्तरको अठोट, विश्वास र मेहनतले अहिले केही रोजगारी दिन सक्ने बनिएको छ भने वार्षिक २० देखी २५ लाखको कारोवार समेत हुन थालेको छ । त्यसो त सुरुवातको समयमा मेरो परिवारले व्यवसायमा खास महत्व दिनुभएन । तर कामलाई भने रोक्नुभएन । उहाँहरुले त दुई चार वर्ष काम गरेर रहर पुरा गर्छ । विहेपछि छोडिहाल्छ भन्ने रहेछ ।’
तर महालक्ष्मीले परिवारको सोचलाई गलत साबित गर्नुभयो । विहेपछि पनि आफ्नो कामलाई निरन्तरता दिनुभयो । व्यवसाय सुरु गरेको डेढ वर्षमा महालक्ष्मीको विहे भयो ।
‘मैले आमालाई विहे अघि नै भनेको थिए, म दिदिहरु जस्तो घरमा बसेर खादिन’, हाँस्दै उहाँले भन्नुभयो, ‘तर भनेको जस्तै परिवारमा विहे हुन्छ भन्ने हुँदैन । लक्कीली मैले सपोटिभ परिवार पाए । म आफूलाई भाग्यमानी ठान्छु ।’
तर पनि हाम्रो समाजमा गडेर बसेको पितृसतात्मक सोचले पहिलो प्राथमिकता घरलाई नै दिनुपर्छ भन्ने रहेको उहाँले गुनासो पोख्नुभयो । तर उहाँले आफ्नो व्यवसायमा पितृसतात्मक सोचलाई हाबी हुन दिनु भएन ।
‘पहिले समय घरलाई दिनुपर्छ । परिवारलाई खुसी पार्नुपर्छ । बचेको समय कामलाई दिनेभन्ने हुन्छ । तर मेरो श्रीमान र परिवारको साथले मेरो काममा कुनै बाधा भएन । उहाँहरुले मलाई कहिले पनि काम नगर भन्नु भएन’, उहाँले भन्नुभयो, ‘तर पनि मैले धेरै समय व्यवसायलाई दिन सकिन ।’
सोचे जति समय दिन पाएको भए व्यवसाय अझै ठूलो हुने उहाँ बताउनुहुन्छ । व्यवसाय फस्टाउन धेरे कुराले प्रभाव पार्ने उहाँको भनाइ छ ।
महको बजार र उत्पादन बढ्नुमा सरकारको पनि ठूलो हात रहेको उहाँले बताउनुभयो । आधुनिक मौरी पालनका लागि सरकारले धेरै कार्याक्रम ल्यायो । जसका कारण धेरैले मह सम्बन्धी तालिम लिए र यसबाट लाभान्वित भएको उहाँको भनाइ छ ।
पहिले र अहिलेको बजारमा के फरक छ ? भन्ने हाम्रो प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘ पहिलेको अवस्था देख्दा यो काम अहिलेसम्म चल्छ भन्ने मलाई पनि लागेको थिएन । नेपालमा मह उत्पादन एकदमै कम हुन्थ्यो । थोरैलाई मात्र आधुनिक मौरी पालनको ज्ञान थियो । बजार पनि सानो । नेपालीहरुले मह खाने त्यति चलन पनि थिएन । उत्पादन कम हुन्थ्यो । विदेशमा भने मह खाने चलन थियो । तर अहिले मह खानेको संख्या पनि बढ्यो । मान्छेलाई महका फाइदा बेफाइदा थाहा छ । अहिले इन्टरनेटबाट सबैले थाहा पाउन्छन् । महको बजार पनि बढेको छ । मौरी पालनको संख्या पनि बढेको छ र उत्पादन पनि ।’
विस्तारै आधुनिक मौरी पालन फस्टाएको देख्न पाउदा आफूलाई निकै खुसी लागेको उहाँ बताउनुहुन्छ ।
अहिले व्यवसाय कस्तो भइरहेको छ ?
उहाँका अनुसार व्यवसाय सोचे जस्तो नभए पनि राम्रो भइरहेको छ । ‘मैले पनि एउटा निश्चित उमेरसम्म व्यवसायलाई बढाउन सकेन । बजारमा जोखिम धेरै छ । व्यवसायलाई बढाउन खोजिरहेको छु । तर गर्न सकिरहेको छैन’, उहाँले भन्नुभयो, ‘अहिले पनि मलाई लगानीको खाँचो छ । बैंकबाट लोन लिन पनि डर लाग्छ, ब्याज तिर्न सकिन्छ सकिदैन भनेर । मेरो सानो उद्यम हो । तर ठूलो सम्भावना बोकेको विजनेश हो ।’
उहाँले प्रत्यक्ष तथा अप्रत्यक्ष गरि सयौँ मानिसलाई रोजगार दिनुभएको छ ।
बी किपिङ सपमा के–के पाइन्छ ?
माहुरीले सिजन अनुसारको फूलको रस ल्याउने भएकाले त्यहि अनुसारको मह उत्पादन हुने उहाँ बताउनुहुन्छ । अहिले आफूहरुसँग तोरी फूलको मह, चिउरी फूलको मह, लिचीको मह, फापरको मह लगायत अन्य मह पनि रहेको उहाँ बताउनुहुन्छ ।
‘मौरीले सिजन अनुसारको फूलको रस ल्याउने भएकाले त्यसको बास्ना, स्वाद र रंग फरक हुन्छ । अहिले आफूसँग टिभिएस र कस्ती गरि दुई ब्राण्डको मह छ । दुबै मह एउटै हुन् तर प्याकेजिङ भने फरक हो’ उहाँले भन्नुभयो ।
उहाँले मह उत्पादनसँगै काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँका माहुरी पालन किसानहरुबाट पनि मह खरिद गर्नुहुन्छ । यसले बजारसम्म पुग्न नसकेका किसानलाई मदत पुग्ने उहाँले बताउनुभयो ।
आफूले उत्पादन तथा संकलन गरेको मह स्थानिय बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि पठाउने गरेको उहाँ बताउनुहुन्छ ।
‘विभिन्न कारणले देश बाहिर सोच जस्तो निर्यात गर्न सकेको छैन । अलि–अलि जान्छ’, उहाँले भन्नुभयो, ‘आफ्नै देशका धेरै ठाउँमा पु¥याउन बाँकी छ । यसका लागि योजना बनाइरहेका छौँ ।’