२१ बैशाख, २०८१ शुक्रबार

05:56:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घटेन घरजग्गाको कारोबार, बैंकिङ क्षेत्रको ५ खर्ब ५० अर्ब लगानी

केशव आचार्य ।

१५ चैत, २०७८

घरजग्गा कारोबारमा विशेष गरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले लगानी गरेका छन् ।

घटेन घरजग्गाको कारोबार, बैंकिङ क्षेत्रको ५ खर्ब ५० अर्ब लगानी

काठमाण्डौं । कोभिड महामारीले आम मानिसको सिंगो जनजीवन नै प्रभावित बन्यो । अधिकांश उद्योग व्यवसाय र समग्र अर्थतन्त्र नै थला पर्यो । तर पनि घरजग्गा कारोबार भने घट्न सकेन । घरजग्गाको कारोबारमा कोरोनाले कुनै असर पारेको देखिदैन । बैंक तथा वित्तीय संस्थाहरुले यस व्यवसायमा ऋण प्रवाह पनि रोकेका छैनन् । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले रियलस्टेट क्षेत्रमा प्रवाह हुने ऋणमा कडाई गर्ने नीति राष्ट्र बैंकले लिएको छ । यस कारण घरजग्गा खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण पाउन कठिन हुनुपर्ने हो । तर भएन व्यवसायिहरुले ऋण पाइरहेका छन् कारोबार चलिरहेको छ । 

हालसम्म घरजग्गा कारेबारमा बैंकिङ क्षेत्रको लगानी ५ खर्ब ५० अर्बको हाराहारीमा छ । घरजग्गा कारोबारमा विशेष गरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले लगानी गरेका छन् । राष्ट्र बैंकले अधिकतम १ करोड ५० लाखसम्मको घर कर्जालाई व्यक्तिगत आवासीय कर्जा र त्यो माथिको कर्जालाई रियलस्टेट कर्जामा गणना गर्दै आएको छ ।

२०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । 

व्यवस्थित बस्ती विकास तथा शहरीकरण र आवश्यकता एवम् मागको आधारमा हाउजिङ लगायतका रियलस्टेट परियोजनाहरु बन्ने भएकाले यो क्षेत्रमा बैंकहरुले उल्लेख्य रुपमा लगानी गरेका छन् ।

मुलुकमा तरलता अभावको चरम संकट भैरहँदापनि घरजग्गामा बैंकको कर्जा लगानी भने अघिल्ला वर्षको तुनलामा बढेको छ । चालु आर्थिक वर्षको शुरुवातीको तुलनामा ०७८ पुसमा बैंकबाट प्रवाहित रियलस्टेट कर्जा (व्यक्तिगत आवासिय घरकर्जा समेत) १२.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको चालु आर्थिक वर्षको माघसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.१ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २५.३ प्रतिशतले बढेको हो ।

२०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को माघ महिना सम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १३.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.८ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले बढेको छ ।

हालसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.३ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २१.३ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १२.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.५ प्रतिशतले र हायर पर्चेज कर्जा ५.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा २५.५ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ७.२ प्रतिशतले घटेको छ ।

पछिल्ला दिनहरुका मानिसहरु गाउँ छोडेर शहरमा बसाई सराई गर्ने प्रचलन बढेपछि जिल्लाका सदरमुकाम र काठमाण्डौ उपत्यकामा घरजग्गाको मूल्य आकाशिएको हो । पछिल्लो पाँच बर्षमा काठमाडौं उपत्यकामा जग्गाको भाउ ५–७ गुना बढेको एक अध्ययनले देखाएको छ ।

नेपालमा पछिल्लो १०–१२ बर्षमा जग्गाको मूल्य कम्तिमा १०–१२ गुनाले बढेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ लाख २७ हजार ९ सय ५० घरजग्गा किनबेच भइसकेको छ ।

सिविफिनको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कुल कर्जामा ७५ प्रतिशत कर्जा स्थिर सम्पत्ती धितो राखेर प्रवाह गरिएको छ । जसमध्ये दुई तिहाइ ऋण घरजग्गा धितो राखेर प्रभाह गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२.८ प्रतिशतले र वित्त कम्पनीहरुकोकर्जा प्रवाह २२.७ प्रतिशतले बढेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ लाख २७ हजार ९ सय ५० घरजग्गा किनबेच भइसकेको छ । कोरोना शुरु हुनु अघि मासिक ८० हजारको हाराहारीमा किनबेच हुँदै आएकोमा कोरोनाको समयमा भने मासिक ७० हजारको संख्यामा घरजग्गा किनबेच भएको सरकारी तथ्यांकले देखाउँछ । बन्दाबन्दीकै समय भएपनि गत वर्ष ८ लाख ४४२ घरजग्गा किनबेच भएको थियो । उक्त संख्या कोभिड आउनुभन्दा अघिको आर्थिक वर्षभन्दा बढी हो । 

सामान्य अवस्थामा आर्थिक वर्ष २०७५/७६ मा ७ लाख ४९ हजार ४५१ घरजग्गाको किनबेच भएको थियो । तर, आव २०७६/७७ को अन्त्यतिर लकडाउन तथा निषेधाज्ञाले सेवा प्रवाह नहुँदा कारोबार प्रभावित भएको थियो । सो वर्ष ५ लाख ६९ हजार ७ सय ३७ घरजग्गा किनबेच भएको थियो ।

मुलुकमा तरलता अभाव चर्किएको छ । व्यापार घाटाले तिब्रता लिइरहेको छ, वैदेशिक विनिमय सञ्चिती घटिरहेको छ । रेमिट्यान्स पनि घटिरहेकै छ तर घर जग्गा कारेबारमा भने कमि आउन सकेको छैन ।