७ मंसिर, २०८१ शुक्रबार

06:54:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा लगानीकर्ताको बढ्दो आकर्षण, किन पर्दैन आईपीओ ?

११ चैत, २०७८

कतिपय लगानीकर्ताहरुले त आईपीओ बाँडफाँडमा सेटिङ हुने गरेकोले नपरेको गुनासो समेत गर्दै आएका छन् ।

सेयर बजारमा लगानीकर्ताको बढ्दो आकर्षण, किन पर्दैन आईपीओ ?

काठमाडौं ।
सामान्य भेटघाट र बोलचाल पछि आजकाल बढि सोधिने प्रश्न हो सेयर बजार । भेटघाट, चिया चौतारो, सहर र गाउँसम्म पुग्दा पनि कहिँ न कहिँ सेयर बजारको कुरा नहुने ठाउँ छैन । घरपरिवारमा सुख दुखका कुरासंगै जोडिने अर्को विषय बनेको छ सेयर बजार । कतिपयले जन्मनसाथै छोराछोरीको बैंक खाता र डिम्याट एंव मेरो सेयर खोलिईसक्छन् । यसले पनि सेयर बजारमा लगानीकर्ताहरुको संख्या बढ्दै गएको छ । सेयर बजारमा लगानीकर्ताहरुको चासो र प्रवेशले सेयर बजारलाई माथी उठान समेत ठूलो सहयोग गरिरहेको छ ।

कुनै समय ८–९ सयमा रहेको सेयर बजार अहिले ३ हजारको वरिपरी घुमिरहेको छ । यसले लगानीकर्ताहरुलाई उत्साहित मात्र बनाएको छैन आर्थिक रुपमा आम्दानी गर्ने वातावरण पनि निर्माण भएको छ । कुनै समय प्रमाणपत्र बोकेर हिड्नुपर्ने बाध्यता अहिले हटेको छ । यसैगरी सेयर भर्न घण्टौं लाईन वस्नुपर्ने लगानीकर्ताहरु अहिले एक क्लिकको भरमा सेयर भर्ने बनेका छन् । बजार उकालो लाग्दा उत्साहि हुने लगानीकर्ताहरुलाई आईपीओको रिजल्टले भने सधै खुसी दिईरहेको छैन । आईपीओ भर्नेको संख्या दशौं गुणा बढि भईरहेको समयमा धेरै कमलाई मात्र आईपीओ पर्नु स्वभाविक रहेको विश्लेष्कहरुले बताउँदै आएका छन् ।
 
पछिल्लो समय साधारण सेयर आईपीओमा सर्वसाधारणको आकर्षण पनि बढ्ने गरेको छ । थोरै मूल्यमा लगानी गर्न र धेरै कमाउन सकिने भएकाले नयाँ लगानीकर्ताको आईपीओमा आकर्षण बढेको हो । आज भोलि कम समयमा थोरै लगानी गरी उच्च आम्दानी गर्न सकिने भएकोले प्रायले आईपीओ भर्न थालेका छन् । केही समय पहिले सर्वसाधारणहरुमा आईपीओ भनेको के हो ? यसबाट के फाइदा हुन्छ ? भन्ने थाहा थिएन । बिस्तारै सेयर बजार बारे थाहा पाउन थालेपछि लगानीकर्ताहरुको संख्या बढ्दै गहिरहेको छ । आज भोलि जुन सुकै कम्पनीको आइपीओ आउँदा पनि माग भन्दा धेरै गुणा आवेदन पर्ने गरेको छ ।

पछिल्लो समय १० कित्ता आइपीओ पर्न पनि भाग्यकै भर पर्नुपर्ने अवस्था आएको लगानीकर्ताले बताउँदै आएका छन् । कतिपय लगानीकर्ताहरुले त आईपीओ बाँडफाँडमा सेटिङ हुने गरेकोले नपरेको गुनासो समेत गर्दै आएका  छन् । आइपीओकै कारण अहिले दोस्रो बजारको आकार पनि ठूलो हुँदै गएको छ । आइपीओ पछि किनबेचका लागि दोस्रो बजारमा प्रवेश गर्नुपर्ने हुन्छ । यस आधारमा प्राथमिक बजारमा जति धेरै आवेदनकर्ता थपिँदै जान्छन्, दोस्रो बजारमा सहभागी हुनेको संख्या पनि वृद्धि हुँदै जाने गर्छ ।

हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५० लाख ५७ हजार नाघिसकेको सीडीएससीले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । संख्या बढे अनुसार सेयर साक्षरता भने वृद्धि हुन नसकेको विज्ञहरुले बताएका छन् ।  पछिल्ला दिनहरुमा आइपीओ जारी गरेका कम्पनीहरुको दोस्रो बजारमा आकर्षक मूल्य कायम भएकाले पनि आवेदकहरुको सेयर बजारमा थप आकर्षण बढेको हो ।  कम्पनीहरुलाई पनि लगानीकर्ताहरुको आकर्षण हुँदा पूँजी जुटाउन सहज भएको छ ।

 प्रविधिमा भएको विकासका कारण दूरदराजका व्यक्तिहरुले समेत सेयर बजारमा लागनी गर्न सकेका छन् । घरमै बसेर आइपीओ भर्न सकिने र त्यसलाई दोस्रो बजारमा कारोबार गर्न पाइने सुविधाले अहिले सेयर बजारप्रति सबैको आकर्षण बढेको छ ।