१ मंसिर, २०८१ शनिबार
03:15:15 PM
१० चैत, २०७८
तत्कालका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा गर्ने र बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँ थप गरी २ अर्ब रुपैयाँ भुक्तानी गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
काठमाडौं ।
सरकारले चुनावअघि कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएको छ । कोरोना दाबी भुक्तानी बापत सरकारले पहिलो चरणमा १ अर्ब रुपैयाँ निकासा गर्ने तयारी गरेको हो । लामो समयसम्म पनि कोरोना बीमा गरेकाहरुले दाबी भुक्तानी नपाउँदा बीमाप्रति नागरिकले भरोसा नै गर्न छाडेका छन् ।
तत्कालका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा गर्ने र बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँ थप गरी २ अर्ब रुपैयाँ भुक्तानी गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । चुनाव अगाडि पहिलो चरणमा १ अर्ब रुपैयाँ बिमितहरुलाई भुक्तानी गरी बीमाप्रति सकारात्मक सन्देश दिँदै बाँकी भुक्तानी चुनावपछि अरु चरणमा दिने तयारी भइरहेको बीमा समितिले जनाएको छ ।
दाबी भुक्तानी बापतका सबै रकम भुक्तानी गर्न आफुहरु तयार भएको तर त्यसबापत सरकारले करमा समायोजन गर्नुपर्ने बीमा समितिले विकल्प सुझाव दिएका छन् । हाल सरकार मातहतमा कोरोना बीमाको दाबी भुक्तानीको ११ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा हुन बाँकी छ ।
कोरोना बीमा मापदण्ड–२०७७ मा कोरोना बीमाको दाबी भुक्तानी १ अर्ब रुपैयाँसम्म बीमकले र १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्ने उल्लेख छ । कोरोना बीमाको दाबी भुक्तानीका लागि हालसम्म १ लाख ५९ हजार २ सय २५ दाबीमार्फत् १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी भुक्तानी परेको छ । तर अहिलेसम्म कुल ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ ।
आफ्नो दायित्व अनुसार बीमक, महाविपत्ति पुल, पुनर्बीमा कम्पनी र बीमा समितिले ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् । त्यसबाहेकको बीमा कम्पनीहरुले थप १ अर्ब २८ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् ।