२ जेठ, २०८१ बुधबार

01:15:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विकास खर्च बढाउने र पर्यटन क्षेत्र चलाए मात्र अर्थतन्त्र सुध्रिन्छः शेखर गोल्छा (भिडियोसहित)

Nepal Business

४ चैत, २०७८

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारी खर्च नहुने राष्ट्रको दिर्घरोग भएको बताउनुभएको छ ।

विकास खर्च बढाउने र पर्यटन क्षेत्र चलाए मात्र अर्थतन्त्र सुध्रिन्छः शेखर गोल्छा (भिडियोसहित)

काठमाण्डौं

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारी खर्च नहुने राष्ट्रको दिर्घरोग भएको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ५५ औँ स्थापना दिवसका अवसरमा अध्यक्ष गोल्छाले सरकारी खर्च नहुने कुनै निश्चित सरकारको रोग नभएर यो राष्ट्र कै रोग भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘यसलाई हामी क्यान्सर नै भनौँ । विकास खर्च गर्न नसक्ने यो हाम्रो ठूलो समस्या रहेको छ ।’

समयमै विकास खर्च गर्नका लागि निजी क्षेत्रको क्षमता वृद्धि तथा सरकारको नीतिमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । ‘यो हामीले गर्न सकेनौ भने हाम्रो समस्या समाधान कहिले हुँदैन’, उहाँले भन्नुभयो, ‘म एउटा सरकारलाई दोष दिन चाहन्न । यो हाम्रो दिर्घरोग हो ।’ 

यस्तै उहाँले निजी क्षेत्रको ठूलो पैसा ‘एडभान्सेस’ का रुपमा सरकारसँग रहेको र सो पैसालाई बैंक ग्यारेन्टीमा रुपान्तरण गरेर बजारमा पैसा ‘रिलिज’ गरेमा समस्या समाधान हुने बताउनुभयो । ‘झण्डै २५ अर्ब जति पैसा मार्केटमा आउन सक्छ’, अध्यक्ष गोल्छाले भन्नुभयो । 

यसैगरी अध्यक्ष गोल्छाले अब कोरोनालाई बिर्सेर पर्यटकहरुलाई स्वागत गर्न तयार हुनुपर्ने बताउनुभयो । हरेक देशले पर्यटन क्षेत्र खोलिसक्दा नेपाल अझै पर्यटकलाई स्वागत गर्न नचाहिरहेको पनि उहाँले टिप्पणी गर्नुभयो । 

‘टुरिजमबाट यति धेरै रोजगारी सिर्जना भएको थियो । मलाई लाग्छ पाटन त टुरिजमका लागि सेन्टर नै थियो । हामीले अहिले पनि टुरिजमका लागि स्वागत गर्न चाहिरकेका छैनौँ । हरेक देशले टुरिजम क्षेत्र खोलिसक्यो । अब कोभिड धेरै कम भईसकेको छ उहाँले भन्नुभयो, ‘हामी अझैपनि सुरक्षाका उपाय अपनाउँदै पर्यटकिय क्षेत्रलाई खुल्ला गर्ने र पर्यटकलाई नेपालमा स्वागत गर्ने वातावरणको विकास गरौं । अब योसँगै बाच्न सिक्नु पर्छ ।’