१७ बैशाख, २०८१ सोमबार

05:39:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनताको स्वास्थ्यप्रति सरकार गम्भीर छ : मन्त्री झाँक्री

Nepal Business

२९ मंसिर, २०७८

जनताको स्वास्थ्यप्रति सरकार गम्भीर छ : मन्त्री झाँक्री

जनकपुर, २९ मंसिर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । जनकपुरधाममा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास गर्नुहुँदै मन्त्री झाँक्रीले सरकारले जनताको स्वास्थ्य, शिक्षा र रोजगारीलाई सरकारले प्राथमिकता राखेको बताउनुभयो ।

जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको निर्माणपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख प्रगति हुने विश्वास व्यक्त गर्नुहुँदै मन्त्री झाँक्रीले सरकारले ल्याएको स्वास्थ्य योजनालाई सफल बनाउन सबैसँग आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरिएका भवन तीनै तहबीचको समन्वय र सहकार्यको अनुपम उदाहरण भएको बताउनुहुँदै स्रोत साधनको आभावमा समेत कोभिड–१९ विरुद्ध प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्र हाताभित्र निर्माण हुन लागेको उक्त भवनको सहरी विकासमन्त्री रामकुमारी झाँक्री, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्तरूपमा शिलान्यास गर्नुभयो । 

कूल रु सात करोड २७ लाख लागतमा निर्माण हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाको साढे तीन तल्ले भवन २०८० साल वैशाख ९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने रु चार करोड ४२ लाखमा निर्माण हुने प्रदेश मेडिकल स्टोरसमेत डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो । सो अवसरमा कोभिड–१९ विरुद्धको खोप भण्डारणगृहको समेत उद्घाटन गरिएको छ । रासस