८ मंसिर, २०८१ शनिबार
01:46:34 AM
२४ फागुन, २०७८
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
हत्याजस्तो जघन्य अपराध गर्नै व्यक्तिलाई कानूनले कहिँ गएपछि र जति नै वर्ष भए पनि छाड्दैन ।
एक जनालाई कतारबाट र अर्का एक जनालाई वहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको छ
त्यसैले व्यक्ति हत्या आरोप लागैका दुई व्यक्ति त्यसबाट उन्मुक्तिका लागि वैदेशिक रोजगारीमा गएका भएपनि अन्ततः पक्राउ परेका छन् । एक जनालाई कतारबाट र अर्का एक जनालाई वहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
एक जना आरोपी १५ वर्षदेखि विदेशमा थिए भने अर्काे आरोपी विगत ६ वर्षदेखि वैदेशिक रोजगारीका लागि विदेश गएका थिए ।
१५ वर्षपछि यसरी पक्राउ परे गुरुङ
कास्की जिल्लाको लेखनाथमा मजदुरी गरेर जिवन गुजारा गर्दै आएका सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्न रहेको आरोपमा सोही जिल्लाका अशोक गुरूङ १५ वर्षपछि पक्राउ परेका हुन् । बहराइनबाट पक्राउ परेका उनलाई मंगलबार पक्राउ पछि नेपाल ल्याइएको छ ।
विसं २०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा जेठ २ गते मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेका आरोपी गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए ।
उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध आएपछि प्रहरीको इन्टरपोल महासचिवालयबाट २०७८ मंसिर २७ मा ‘रेड नोटिस’ जारी गरिएको थियो ।
उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने जनाइएको छ ।
कतारबाट यादव पक्राउ
यस्तै इन्टरपोलबाट रेड नोटिस जारी भएका सिरहा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
उनीमाथि भने आफ्नै श्रीमती हत्या गरेको आरोप छ । श्रीमती आरती परियारलाई धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा भोगेन्द्रलाई कतारमा पक्राउ गरी नेपाल ल्याइएको हो ।
ललितपुर लेलेमा २०७२ वैशाख १५ गते विहान आरतीको हत्या भएको थियो ।
घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउको लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते इन्टरपोल महासचिवालयबाट सुपुर्दगी तथा २०७७ साउन १९ मा ‘रेड नोटिस’ जारी भएको थियो ।
यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएको प्रहरीले जनाएको छ । अब उनीमाथि महाशाखाबाट आवश्यक अनुसन्धान हुने छ ।