६ मंसिर, २०८१ बिहिबार

06:08:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमा समितिको नयाँ भवन बनाइँदै

Nepal Business

२७ मंसिर, २०७८

बीमा समितिको नयाँ भवन बनाइँदै

काठमाडौँ, २७ मंसिर । ललितपुरको कुपण्डोलमा बीमा समितिको अत्याधुनिक सुविधासहितको नयाँ भवन निर्माण हुने भएको छ । कुपण्डोलमा रहेको समितिको १० रोपनी जग्गामा साततले भूकम्प प्रतिरोधी र अपाङ्गता भएका नागरिकले सहजरूपमा सेवा लिन सक्ने भवन निर्माण हुन लागेको हो । अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज संयुक्तरूपमा समितिको नयाँ भवनको शिलान्यास गर्नुभएको हो ।

रु ४७ करोड ३७ लाख लागतमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार साततलाको नयाँ भवनमा १२० जनासम्म सहभागी हुनसक्ने अन्तर्राष्ट्रियस्तरको सेमिनार हल, ४० जना क्षमताको छुट्टै बैठक कक्ष, बोर्ड कक्ष, करिब ८० वटा सवारी साधन पार्किङ गर्न मिल्ने अण्डरग्राउण्ड पार्किङ र ११२ जनासम्म क्षमताको चमेनागृहलगायत सुविधा हुनेछ । 

सो अवसरमा अर्थमन्त्री शर्माले दूरदराजका कृषक र विपन्न वर्गसम्म बीमाको पहुँच पुग्नुपर्ने बताउनुभयो । उहाँले मानव जीवन, भौतिक सम्पत्ति एवं सरकारी र सार्वजनिक पूर्वाधारमा रहेका जोखिमहरूको न्यूनीकरणमा बीमाको महत्वपूर्ण योगदान हुने जनाउनुभयो ।

उहाँले जनतालाई बीमा गर्न उत्साहित गर्नका लागि बीमा कम्पनीको व्यवहार र क्रियाकलाप विश्वासयोग्य हुनुपर्ने आवश्यकता औँल्याउँँदै भन्नुभयो, “बीमा व्यापार मात्र होइन, जोखिमको रक्षा कवच पनि हो ।” उहाँले बीमाको दायरा बढाउने सरकारको लक्ष्य हासिल गर्नका लागि बीमा समिति र बीमा कम्पनीलाई ठोस योजनासहित गम्भीर भएर लाग्न निर्देशन दिनुभयो ।

अर्थमन्त्री शर्माले कोरोना बीमाको बाँकी दाबी भुक्तानीसम्बन्धी समस्याको समाधानका लागि अर्थ मन्त्रालयमा गम्भीर गृहकार्य भइरहेको भन्दै सो समस्यालाई छिट्टै समाधान गरिने जानकारी दिनुभयो । उहाँले पुनर्बीमासम्बन्धी निर्णयका बारेमा पनि मन्त्रालयमा गम्भीर अध्ययन भइरहेको बताउनुभयो ।

शहरी विकासमन्त्री झाँक्रीले अर्थ समितिमा बीमा समिति र धितोपत्र बोर्डसँग सम्बन्धित विधेयक छलफलको अन्तिम चरणमा पुगेको र छिट्टै पास हुने अवस्था रहेको उल्लेख गर्दै ऐन, नियममार्फत नियामक निकायलाई सशक्त र अधिकार सम्पन्न बनाउनेतर्फ सम्बद्ध सबैको ध्यान जानु जरूरी भएको बताउनुभयो ।

उहाँले बीमा समिति जस्ता नियमनकारी निकायको कामलाई प्रभावकारी बनाउनका लागि सुविधा सम्पन्न भौतिक संरचनाका साथै राम्रो वातावरण आवश्यक पर्ने बताउनुभयो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा बीमाको दायरा क्रमिक रूपमा बढ्दै गएको उल्लेख गर्दै बाध्यात्मक किसिमले बीमा गर्नेभन्दा पनि स्वतःस्फूर्तरूपमा बीमा गर्ने अवस्था सिर्जना हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बीमा समितिका अध्यक्ष सिलवालले चालू आवमा कूल जनसङ्ख्याको ३३ प्रतिशतलाई बीमाको दायरामा ल्याउने सरकारको लक्ष्य हासिल गर्नका लागि तालिकाबद्ध रूपले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस