२ मंसिर, २०८१ आइतबार
07:50:41 AM
२३ फागुन, २०७८
सेबोन एक डेढ महिना भित्रै सबै कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासन गर्ने स्विकृती दिने तयारी
काठमाण्डौं
नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले सेयर बजारमा आम नागरिककलाई अनुभूती हुने गरी काम गरिने बताउनु भएको छ । सेबोन एक डेढ महिना भित्रै सबै कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासन गर्ने स्विकृती दिने तयारी गरिरहेको बताउनु भयो । सेबोन विभिन्न कारणले बजारलाई गतिशिल बनाउन असमर्थ थियो त्यस बाटालाई चिर्दै अगाडि बढेको उहाँको दावी छ ।
आगामी दिनमा सेबोनमा हालसम्म देखापरेका समस्यालाई बृहत अध्ययन अनुसन्धान गरी यस निकायलाई आमनागरिकको विश्वसनीय निकायको रुपमा विकास गर्न बोर्ड लागेको छ । यसका लागि सरकार धितोपत्र बोर्ड र पत्रकार हामी सबैको सहकार्य जरुरी रहने अध्यक्ष हमालले बताउनु भयो । हिजोसम्म बोर्डको अध्यक्ष नभएकै कारण रोकिएका सम्पूर्ण कामहरु पर्सिबाटै सुचारु हुने जानकारी दिनुभयो ।
आईपीओको स्वीकृती दिने तयारी
पाइप लाइनमा रहेका सेयर निष्कासक कम्पनीलाई कहिलेबाट आईपीओ निष्कासनको स्वीकृति दिनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष हमालले एक डेढमहिना भित्र सबैले अनुमती पाइसक्ने बताउनु भयो ।
सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कुराकानी गर्दै उहाँले भन्नुभयो, आईपीओ प्रकृया रोकिँदा कम्पनीलाई पनि घाटा भएको छ । त्यो हामीले बुझेका छौँ । अहिले मेरो टिमले सबै इन्डेक्स हेरिरहेको छ । कुन कम्पनीको प्रकृया कहाँ पुग्यो त्यहाँबाट थाहा हुन्छ । यदि सबै प्रकृया पुरा भएको छ भने त्यसलाई हामी धेरै दिन लगाउदैनौँ दुई तीन दिनभित्रैमा स्विकृती दिन्छौँ ।
कुनै दोश्रो चरणमा पुगेका छन् भने जस्तो हामीले केही पत्राचार गर्यौँ उताबाट डिटेल आएको छैन भने त्यो चेक गर्न बाँकी छ । त्यसरी अहिले हामीले वर्गिकरण गरिरहेका छौँ ।
भोलि बिदा छ पर्सीबाटै हामी रोकिएका जति पनि कम्पनी छन् सबै कम्पनीहरूलाई वान बाइ वान अनुमति दिन्छौँ । यसलालाई रोक्नु पर्ने कुनै कारण छैन । रोक्दा सबैलाई अफ्ठ्यारो पर्छ । सबै पकृया पुरा गरेर अनुमति दिँदा एक डेढ महिना लाग्ने उहाँले बताउनु भयो । आईपीओ मात्रै नभएर पाइपलाइनमा रहेका डिबेञ्चर र राइट सेयरहरूको पनि प्रकृया चलिरहेको जानकारी उहाँले दिनुभयो।
बैंकलाई ब्रोकर लाइसेन्स
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन भइरहेको बताउनु भयो । सेबोनद्वारा आयोजित कार्यक्रममा कुराकानी गर्दै उहाँले कुनैपनि उचित निर्णय लिनको लागि हतारमा भन्दा पनि राम्ररी अध्ययन गर्नुपर्ने भएकाले आफूहरूलाई केही दिन समय दिन आग्रह गर्नु भएको छ ।
बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा पनि दुई वटा पक्षबीच फरक अवधारणा रहेको उहाँ बताउनु हुन्छ । एउटा पक्षले बैंकलाई ब्रोकर लाइसेन्स दिँदा लगानीकर्ताहरूको राम्रो पहुँच पुग्ने बताइरहँदा अर्को पक्षले सबै काम बैंकहरूले नै गरेमा अन्य संस्थाहरूले के गर्ने भन्ने बहस चलेको बताउनु भयो । अहिले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा सबै तहहरूमा छलफल भइरहेको र एउटा मोडालिटी बनिरहेको जानकारी उनले दिएका छन् ।
भइरहेका ब्रोकरहरूलाई कसरी क्यापेबल बनाउने र कुन मोडलबाट निर्णय लिँदा सबैलाई समान अवसर हुन्छ त्यही मोडल छनोट गर्ने बताए । सेयर बजारको हितका लागि के गर्दा राम्रो हुन्छ त्यही गर्ने उनले बताए । त्यस्तै, यो निर्णय सेबोन एक्लैले गरेर नहुने बताउँदै उनले नेप्सेबाट पनि निर्णय लिनुपर्ने बताए ।
बुक विल्डिङबारे अब कम्प्लेन नआउने
अध्यक्ष हमालले अब आफ्नो कार्यकाल भरी बुक विल्डिङ विधिबारे कम्प्लेन गर्नुपर्ने अवस्था नआउने बताउनु भएको छ । उहाँले बुक विल्डिङ विधिको सबै नियमहरू अध्ययन गरेर राम्ररी बनाइएको हुनाले यसलाई खासै परिमार्जन गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ ।
लगानीकर्ताको गुनासो सुन्न एप
सेबोनका अध्यक्ष रमेश कुमार हमालले आफूहरुले लगानीकर्ताको गुनासो सुन्ने एप छिट्टै बनाउने बताउनु भएको छ। सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा कुराकानी गर्दै उहाँले आगामी दिनहरूमा सम्पूर्ण लगानीकर्ताहरूको गुनासो सुन्नलाई एप डेभलप गर्ने बताउनु भएको हो। उक्त एपबाट सो कार्यको प्रकृया कहाँ पुग्यो, के भइरहेको छ भन्ने सबै कुराको जानकारी घरमै बसी मोबाइल र ल्यापटपबाट हेर्न सकिने उहाँले बताउनु भयो ।