११ मंसिर, २०८१ मंगलबार

04:38:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महाशिवरात्रि देशभर मनाइँदै, पशुपति लगायत विभिन्न मन्दिरमा भक्तजनहरुको घुइँचो

१७ फागुन, २०७८

महाशिवरात्रि देशभर मनाइँदै, पशुपति लगायत विभिन्न मन्दिरमा भक्तजनहरुको घुइँचो

काठमाण्डौं

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मंगलबार देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकिर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । महाशिवरात्रीको अवसरमा काठमाडौको पशुपतिनाथ मन्दिरमा भक्तजनको घुईचो लागेको छ । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको थियो । 

यस्तै महाशिवरात्रिको अवसरमा भक्तपुरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार भक्तपुरको दत्तात्रय मन्दिरका साथै विभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो । 

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, यातु महादेव, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, चित्तापोलस्थित कैलाशकुट महादेवमा पनि भक्तजनहरु पुगेका छन् ।