११ मंसिर, २०८१ मंगलबार

10:58:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशमा टुटेको आर्थिक सम्पन्नताको सपना, वार्षिक १ हजार बढीको मृत्यु, शव ल्याउनै सास्ती

१४ फागुन, २०७८

बर्सेनि ४ लाख ५० हजार व्यक्ति वैदेशिक रोजगारीमा जान्छन् । पछिल्लो १३ वर्षमा ९ हजार ४ सय २४ जनाको निधन भएको छ ।

विदेशमा टुटेको आर्थिक सम्पन्नताको सपना, वार्षिक १ हजार बढीको मृत्यु, शव ल्याउनै सास्ती

काठमाडौं । 
नेपाल विजनेश विशेष संवाददाता ।
 
धनकुटा छथरजोरपाटीका गाउँपालिका ५ परेवादिनका रामकुमार लिम्बुको शव कहिले आउने अझै टुङगो छैन । ४ महिनाअघि उनको निधन भएपनि केहीदिन अघि मात्रै प्रक्रिया सुरु भएको छ । 
बैदेशिक रोजगार वोर्डका अनुसार साउदी अरेबियाबाट शव ल्याउन सामान्यतया प्रक्रिया सुरु गरेदेखि तीन महिना भन्दा बढी समय लाग्ने गरेको छ ।

नेपाली प्रायः युवा (१८ देखि ४० वर्षसम्मका) हुन्छन् । यसमा पनि २५ देखि ३५ वर्ष उमेर समूहका अधिक जान्छन् । उनिहरु कामका क्रममा गर्ने असाबधानी लगायत विविध कारणले अकालमै ज्यान गुमाउन पुग्छन् ।  

कानुनी जटिल हुँदा अन्य देशभन्दा साउदीबाट शव ल्याउन सकस पर्ने गरेको छ । त्यसपछि मलेसियाबाट पनि शव आउन केही ढिलाइ हुने गरेको छ । चार महिनादेखि लिम्बुको शव साउदीमा अलपत्र परेपछि सेन्टर फर माइग्रेसन इन्टरनेशनल रिलेसनको पहलमा वैदेशिक रोजगार वोर्डले शव ल्याउन पहल गरेको हो ।

वोर्डका अनुसार गन्तव्य मुलुकबाट अझै ५४ वटा शव ल्याउन बाँकी छ । तर वोर्डले कुन देशबाट कति शव बाँकी छ भन्ने यकिन भन्न नसकेपनि सबैभन्दा धेरै शव साउदी अरेबिया र मलेसियामै छन् । 
वैदेशिक रोजगार वोर्डका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को हालसम्म ४ सय ४० जनाको शव ल्याइएको छ ।

वोर्डका अनुसार मलेसियाबाट १ सय ५३, साउदी अरेबियाबाट १ सय २६, कतारबाट ७३, युएईबाट ४६, कुवेतबाट २५, बहराइनबाट ८ जनाको शव नेपाल ल्याइएको छ । जोर्डन, रोमानिया र कोरियाबाट २/२, उज्बेकिस्तान, ओमन र क्रोसियाबाट १/१ वटा शव ल्याइएको हो । 

वोर्डका अधिकृत आशिष भण्डारीका अनुसार साउदीबाट शव ल्याउन ३ महिनादेखि १७ महिनासम्म लाग्ने गरेको छ । ‘सामान्यतया साउदीबाट तीन/चार महिनामा शव आउँछ, हत्याको केस भएमा धेरै लामो प्रक्रिया पूरा गर्नुपर्ने हुँदा शव ल्याउन धेरै समय लाग्छ ।’ उहाँका अनुसार हत्या भएको शव पोष्ट मार्टम गर्न समय लाग्ने भएकाले शव ल्याउन बढी समय लाग्ने गरेको हो ।

अरु देशबाट भने ७ दिनदेखि १५/२० दिनभित्र शव ल्याउन समय लाग्ने गरेको वोर्डले जनाएको छ ।  वैदेशिक रोजगारीमा जाने नेपाली प्रायः युवा (१८ देखि ४० वर्षसम्मका) हुन्छन् । यसमा पनि २५ देखि ३५ वर्ष उमेर समूहका अधिक जान्छन् । उनिहरु कामका क्रममा गर्ने असाबधानी लगायत विविध कारणले अकालमै ज्यान गुमाउन पुग्छन् ।  

वैदेशिक रोजगार वोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १ हजार २ सय ४२ जनाले ज्यान गुमाएका छन् । यस हिसाबले औसतमा दैनिक तीन जनाको मृत्यु हुनेको छ । वोर्डले श्रमस्वीकृति लिएकाको मात्रै शव ल्याउने र रेकर्ड राख्ने गरेको छ । श्रम स्वीकृति नलिई जानेको मृत्यु भएमा शव ल्याउनै समस्या पर्छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का वैदेशिक रोजगार विभाग हेर्ने उपाध्यक्ष डा. बद्री केसीले सरकारले श्रमस्वीकृति नलिई विदेश गएका नेपालीको उद्धार तथा शव ल्याउन कुनै पहल नगरेको बताउनुहुन्छ । ‘हामीले गन्तव्य देशका राष्ट्रिय समन्वय समितिसँग सहकार्य गरेर अलपत्र परेको उद्धारका साथै पैसा उठाएर शव ल्याउन सहजीकरण गरिरहेका छौं’ उहाँले भन्नुभयो । 

हृदयघात, आत्महत्या, सडक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटनाबाट पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकले ज्यान गुमाइरहेका छन् । पोस्टमार्टम नगरी शव पठाउने भएकाले मृत्युको कारण खुल्न नसकेको हो । 

एनआरएनएले कोभिडको बेला वैदेशिक रोजगारीमा अलपत्र परेका युवालाई सहयोग गरेको थियो । रोजगारी गुमाई अलपत्र परेकालाई टिकट काटेर स्वदेश फिर्ता गरेको थियो । त्यसका साथै कोभिडको समयमा पनि एनआरएनएले शव ल्याएको थियो ।

पछिल्लो १३ वर्षमा ९ हजार ४ सय २४ जनाको निधन भएको छ । वोर्डले श्रमस्वीकृति लिई गएको समयभित्रै निधन भएका श्रमिकको मात्रै तथ्याङक राख्ने गरेको छ । श्रमस्वीकृति नलिई गएका, ओभरस्टे बसेका, कम्पनी छोडेर भागेका, अलेखबद्ध कामदारको पनि दैनिक औसत दुई जनाको मृत्यु हुने गरेको जानकारहरु बताउँछन् ।

यसले गर्दा वैदेशिक रोजगारीमा हुने मृत्युको संख्या यकिन हुन नसकेको हो । अहिलेसम्म अधिकासं विदेशमा मृत्यु हुनेहरुको मृत्युको खास कारण पहिचान हुन सकेको छैन । मृत्युको कारण थाहा नभएको, प्राकृतिक, अन्य, अनुसन्धान भइरहेको लगायतका कारण लेखेर शव पठाउने गरिन्छ ।

यसबाहेक हृदयघात, आत्महत्या, सडक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटनाबाट पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकले ज्यान गुमाइरहेका छन् । पोस्टमार्टम नगरी शव पठाउने भएकाले मृत्युको कारण खुल्न नसकेको हो । 

श्रमविज्ञ डा. गणेश गुरुङ वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको वास्तविक पहिचान हुन नसक्नु राज्यको कमजोरी भएको बताउनुहुन्छ । ‘पोस्टमार्टम नगरी स्वदेश पठाइने गरेकाले मृत्युको वास्तविक कारण खुल्न नसकेको हो’, डा. गुरुङले भन्नुभयो । उहाँका अनुसार पोस्टमार्टमको व्यवस्था गर्न सके मात्रै पनि मृत्युको वास्तविक तथ्य पत्ता लाग्छ । 

श्रमविज्ञ पूर्णचन्द्र भट्टराई पोस्टपार्टममा गम्भीर हुन आवश्यक देखिए पनि अहिलेसम्म कुनै सरकारले त्यसतर्फ ध्यान दिन नसकेको बताउनुहुन्छ । कामदारले गन्तव्य मुलुकमा हेलचेक्र्याइँ नगरी जोखिमप्रति सचेत रही सावधानीपूर्वक काम गर्न भट्टराइले सुझाव दिनुभयो ।  

सर्वोच्च अदालतले २०७४ मा वैदेशिक रोजगारीमा हुने मृत्युको कारण खोज्न सरकारलाई आदेश दिएपनि अहिलेसम्म सरकारले त्यसतर्फ कुनै चासो देखाएको छैन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. केदार बरालको संयोजकत्वमा २०७४ सालमा कार्यदल गठन गरी अध्ययन भएको थियो तर उक्त कार्यदलले पनि वैदेशिक रोजगारीमा हुने मृत्युको पहिचान खुलाउन सकेन । 

सर्वोच्चले श्रम गन्तव्य मुलुकमा हुने मृत्युको कारण पत्ता लगाउन अनिवार्य रूपमा पोस्टमार्टम गराउन आदेश दिएको थियो । त्यसतर्फ चासो नदिनु श्रमिकप्रति सरकारको वेवास्ता रहेको विज्ञहरु बताउँछन् । सरकारले सर्वोच्चको आदेशअनुरूप तदारुकता नदेखाउनु आपत्तिजनक भएको अनुसन्धानकर्ता रामेश्वर नेपालले बताउनुभयो ।

‘आदेशका बाबजुत कुनै कदम नचालिनु विडम्बना हो’, नेपालले भन्नुभयो ‘अब निधनको कारण खुलाउन सरकारले ध्यान दिनै पर्छ ।’ ‘अभिमुखीकरणको समयसीमा बढाएर श्रमिकलाई त्यसबारे पूर्ण जानकारी दिन आवश्यक भएको श्रमविज्ञहरु बताउँछन् । श्रमिकले समय दिएर अभिमुखीकरणमा बस्न नमान्ने प्रवृत्ति बढ्दै गएकाले वैदेशिक रोजगारीमा निधन हुने गरेको छ । 

मृत्युको अर्को कारण पारिवारिक तनाव पनि हो । ‘परिवारका सदस्यले चाहिने/नचाहिने कुरा सुनाउँछन्’, उहाँ भन्नुहुन्छ, ‘धन कमाउनुपर्ने दबाब हुने भएकाले स्वास्थ्यको ख्यालै नगर्दा पनि निधनको मात्रा बढेको छ ।’ 

एजेन्ट तथा म्यानपावरले ५/६ महिना झुलाउँदा श्रमिक छिटो जान पाए हुन्थ्यो भन्ने सोच राख्छन् । त्यही हतारले आफू जाने देशको हावापानी, रहनसहन र कानुनबारे जानकारी नलिने, अभिमुखीकरण तालिमलाई महत्व नदिने गरेकाले पनि गन्तव्य देशमा उनीहरुका लागि प्रतिकुल हुन सक्छ । 

श्रमविज्ञ भट्टराईका अनुसार मृत्युको अर्को कारण पारिवारिक तनाव पनि हो । ‘परिवारका सदस्यले चाहिने/नचाहिने कुरा सुनाउँछन्’, उहाँ भन्नुहुन्छ, ‘धन कमाउनुपर्ने दबाब हुने भएकाले स्वास्थ्यको ख्यालै नगर्दा पनि निधनको मात्रा बढेको छ ।’ 

सीप नसिकी जाँदा सोचेजस्तो कमाइ नहुँदा पनि प्रायः कामदार तनावमा पर्छन् । उनीहरूलाई सीप सिकाएर, पर्याप्त प्रशिक्षण दिएर पठाउन आवश्यक देखिएको छ । नेपालीको औसत आयु ७०.५ वर्ष छ । तर, वैदेशिक रोजगारीमा गएकै कारण आधा उमेरमै ज्यान गुमाउन बाध्य छन् ।

सरकारले वाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गरेपनि स्वदेशमा रोजगारी सिर्जना गर्न सकेको छैन । विदेशमा उचित पारिश्रमिक पाउने वातावरणसमेत बनाउन सकेको छैन । जसले गर्दा विदेशमा दिनरात खटेर काम गर्दा पनि जीवनस्तरमा सुधार नभएपछि कामदार सकसमा पर्ने गरेका छन् । 

अनुसन्धानकर्ता नेपालका अनुसार सुतेको सुत्यै, गाडी दुर्घटना र कार्यस्थल दुर्घटना (माथिबाट खसेर, मेसिनले किचेर)का कारण वैदेशिक रोजगारीमा रहेका नेपालीको निधन हुने गरेको छ । ‘राज्यले राम्रोसँग पढाएर पठाउन सके धेरै मात्रामा मृत्यु रोक्न सकिन्छ’, उहाँ भन्नुहुन्छ ‘जाने देशको ट्राफिक नियम, कार्यस्थलबारे, हावापानी तथा रहनसहनका बारेमा राम्रोसँग पढाउनुपर्छ ।’ 

श्रमिकको सुरक्षामा विशेष जोड दिने गरी द्विपक्षीय सम्झौता अपरिहार्य देखिएको छ ।  दिनभर ५५ डिग्रीसम्ममा काम गर्ने र राति एसीको अनियन्त्रित चिसोमा सुत्ने प्रवृत्तिले गर्दा बिहान उठ्दा कतिपयको मृत्यु हुने गरेकोे पाइएको छ । खानपानमा ध्यान नपु¥याउँदा पनि निधन हुने गरेको छ । कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइका कारण बर्सेनि नेपालीको ज्यान गइरहेको छ ।  

कार्यस्थलमा सुरक्षा, खानपान, बस्ने व्यवस्था, कामको प्रकृतिमा सुधार ल्याउन सरकारले कदम चाल्न ढिला भइसकेको जानकार बताउँछन् । काम गर्दा सुरक्षा अपनाउने, वासस्थानको वातावरण, भेन्टिलेटर भए/नभएको, खानेकुरा हाइजेनिक छ/छैन भन्ने विषयमा कामदार सचेत हुनुपर्छ ।

त्यस्तै ठूल्ठूला अग्ला टावरमा चढ्नुपर्दा सुरक्षा र प्रशिक्षण दिनुपर्ने, जतिसुकै अनुभवी भए पनि लापरवाही नगर्ने बानीको विकास गर्न सके वैदेशिक रोजगारीमा मृत्यु रोक्न सकिने विज्ञहरु बताउँछन् । 
वोर्डले कार्यस्थल सुरक्षा, तनाव व्यवस्थापन, स्वास्थ्य सुरक्षामा श्रमिकलाई अध्यापन गराउने योजना बनाएको छ । वोर्डका उपसचिव दीनबन्धु सुवेदी यस आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु रोक्न तालिम आयोजना गर्ने तयारी भइरहेको बताउनुहुन्छ ।

वोर्डले कार्यस्थल सुरक्षा, तनाव व्यवस्थापन, स्वास्थ्य सुरक्षामा श्रमिकलाई अध्यापन गराउने योजना बनाएको छ । 

बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा सरकारले गरे पनि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा बर्सेनि ४ लाख ५० हजार व्यक्ति वैदेशिक रोजगारीमा जान्छन् । विगत २ वर्षयता कोभिडले वैदेशिक रोजगार प्रभावित बनाएको छ । चालू आर्थिक वर्षको ६ महिनामा साढे २ लाख श्रमिक वैदेशिक रोजगारीमा गइसकेका छन् । गत वर्ष कोभिडका कारण १ लाख ६६ हजार मात्रै श्रमिक वैदेशिक रोजगारीमा गएका थिए । 

वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीमा हुने निधनको वास्तविक तथ्य पत्ता लगाउन वोर्डले अध्ययन सुरु गरेको बताउनुभयो । मृत्युको कारण, कुन जिल्लाको कुन पालिकाको, लैंगिक तथा कुन वर्गको व्यक्तिको निधन भइरहेको छ भन्ने विषयमा अध्ययन सुरु गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।