६ मंसिर, २०८१ बिहिबार

06:26:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

झिनो निर्यातले आयात घटाउन सकेन. भारतसँग मात्र कुल व्यापारको लगभग ६० प्रतिशत व्यापार

१४ फागुन, २०७८

भु–परिवेष्ठित त्यसमा पनि आयातमा निर्भर यो देशको अर्थतन्त्रको लागि दुर्दशा हो

काठमाण्डौं । 
विश्वमा आर्थिक कृयाकलापको अवधारणा निजीकरण, उदारिकरण, विश्वव्यापिकरण हुँदै आजसम्म आइपुग्दा विश्व अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक व्यापारले लिन पुगेको छ । वैदेशिक व्यापारलाई नै सहजीकरण गर्ने गरी विश्व व्यापार संगठन (डब्लुटिओ), क्षेत्रीय संगठनहरु साउथ एसिएन फ्रि ट्रेड एरिया (साफ्टा), बिमस्टेक लगायतका संघसंस्था सक्रिय रहेका छन् । नेपाल पनि डब्लुटिओको सदस्यता प्राप्त गरेसँगै विश्व व्यापारमञ्चमा सहभागी भैसकेको छ । यसले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको मान्यता राख्दछ । 

प्राचीन समयमा भारतको पाटलीपुत्र (पट्ना) र चीनको तिब्बेतसँग मात्र सीमित रहेको व्यापार आज विश्वका १ सय ४५ देशसम्म प्रत्यक्ष रुपमा फैलन पुगेको छ । सरकारले व्यापारिक सम्झौता गरेको मुलुकको संख्या भने हालसम्म ११० मात्र रहेको छ । मुलुकले विश्वमा गर्ने व्यापारको सबैभन्दा ठूलो हिस्सा भारतले ओगटेको छ । भारतसँग मात्र कुल व्यापारको लगभग ६० प्रतिशत व्यापार हुँदै आइरहेको छ । बाँकी विश्वका अन्य मुलुकहरुसँग जम्मा ४० प्रतिशत मात्र व्यापार हुँदै आइरहेको छ । 

विश्वका हरेक मुलुक आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमै लागि रहेका छन् तर उपलब्ध स्रोत साधन, वातावरण र उत्पादन लागतका कारण ती मुलुक आयात गर्न वाध्य छन् । उत्पादन लागतमा ल्याउन सकिने कमिले नै आज विश्व बजारमा राज गरिरहेको छ ।

पछिल्ला दिनमा नेपालको अर्को ठूलो व्यापारिक हिस्सेदार चीन बनिरहेको छ । भारत पछि चीनसँग व्यापारिक कारोबार बढ्दै गएको हो । विश्वका हरेक मुलुक आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमै लागि रहेका छन् तर उपलब्ध स्रोत साधन, वातावरण र उत्पादन लागतका कारण ती मुलुक आयात गर्न वाध्य छन् । उत्पादन लागतमा ल्याउन सकिने कमिले नै आज विश्व बजारमा राज गरिरहेको छ ।

आर्थिक कृयाकलाप र विश्व आर्थिक मञ्चमा भएको उपस्थितिको आधारमा विश्वले मुलुकलाई तीन भागमा बाँडेको छ । यसैलाई पछिल्ला दिनहरुमा आर्थिक विकास भनिन थाल्यो । आर्थिक विकासलाई आधारमान्दै विश्व विकसित, विकासोन्मु र अतिकम विकसित मुलुकमा विभाजित भयो । 

नेपालले आजसम्म अतिकम विकसित मुलुकको भूमिका निर्वाह गरिरहेको छ । प्रशस्त प्राकृतिक स्रोत साधन र विश्वका दुई ठूला देशको बीचमा रहेको बफर स्टेट भएर पनि नेपाल र नेपालीले अतिकम विकसित मुलुकको बिल्ला भिरिरहनु परेको छ । पुस्तकका पानामा प्रशस्त रहेका स्रोतसाधनहरु पढ्दा मात्र रमाइलो तर उपयोगको कुनै अनुभुति भएको छैन । यसैकारण नेपालले दिनानुदिन ब्यापार घाटा व्यहोरिरहनु परेको हो । आजभोली निर्यात बढ्यो भन्दै समाचार भाइरल भएको पाइए पनि कुनै एक वस्तुको आयातलाई पनि प्रतिस्थापन गर्न सकेको छैन । 

चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो सात महिना साउनदेखि माघसम्म निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा सार्वजनिक तथ्याङ्क अनुसार ८८.३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । सात महिनामा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो । यस अवधिमा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । सात महिनामा ४२.७८ प्रतिशतले आयातमा वृद्धि हुँदै ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढीको आयात भएको हो । 

विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो । निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । यस अबधिमा ११ खर्ब बढीको आयात हुँदा ३८.४५ प्रतिशतले व्यापार घाटा बढेको छ ।     

चालु आर्थिक वर्षको सात महिनामा नेपालको १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । यसै आर्थिक वर्षको सात महिनामा नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड चार लाख बराबरको पुगेको विभागले जनाएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सोही अवधिमा नेपालमा १ सय ४५ देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ । 

यस अवधिमा नेपालमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नेपालले भारतबाट ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात गरेको छ । यसै अवधिमा  १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख भन्दाबढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट सात महिनामा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख बराबरको आयात भएको छ भने ४८ करोड ७९ लाख १५ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख बराबरको व्यापार घाटा रहेको छ ।

आजसम्म जेनतेन थेगिएको व्यापार घाटा अवका दिनमा थेग्न मुश्किल हुने देखिन्छ । मुलुकमा आत्मनिर्भरका लागि गरिनु पर्ने उत्पादन भन्दापनि आयातमा रमाउने संस्कार विकास हुँदै गइरहेको छ । गाउँघरका जग्गा जमिन बाँझै छन् । ग्रामिण भेगमा बस्ने किसानका छोरा छोरी बालिग हुनासाथ विदेश हानिन थाले । कृषि उत्पादनमा कुनै भविश्य नदेखे पछि उनीहरु विदेशिन वाध्य बनेका हुन् । सामान्य जीवन धान्नपनि मुश्किल भएपछि उपयुक्त विकल्प बन्यो वैदेशिक रोजगार ।

निर्यातको तुलनामा १० औं गुणाले बढिरहेको आयात मुलुकका लागि विदेशी मुद्राको क्षयीकरण गर्ने साधन हो । वर्षभरीको निर्यातले पेट्रोलियम पदार्थ पनि आयात गर्न नधान्ने परिस्थिति बनिरहेको छ । विद्युत उत्पादनमा आत्मनिर्भर नजिक पुगेको मुलुक चर्को बजार मूल्यबाट थिचिएको छ ।

आजभोली वैदेशिक रोजगारबाट नेपाल फर्किदै आफ्नो व्यवसाय गर्ने युवाहरुको जमात बढ्दै गएको पाइन्छ । यो देशका लागि सकरात्मक पक्ष हो तर यिनका लागि सरकार के कति सकराम्मक बनिरहेको छ ? यसले कृषि पेशालाई थप आकर्षित गर्नेछ । सामान्य दैनिक उपभोग्य वस्तुको समेत आयात गर्नु पर्ने वाध्यतालाई कम गर्न मद्धत पुग्नेछ । आज देशले साग, गुन्द्रुक समेत आयात गरिरहेको छ यस प्रकारका आयातलाई प्रतिस्थापन गर्न युवाहरुको यो जोश प्रशंसनीय छ ।

निर्यातको तुलनामा १० औं गुणाले बढिरहेको आयात मुलुकका लागि विदेशी मुद्राको क्षयीकरण गर्ने साधन हो । वर्षभरीको निर्यातले पेट्रोलियम पदार्थ पनि आयात गर्न नधान्ने परिस्थिति बनिरहेको छ । विद्युत उत्पादनमा आत्मनिर्भर नजिक पुगेको मुलुक चर्को बजार मूल्यबाट थिचिएको छ । भु–परिवेष्ठित त्यसमा पनि आयातमा निर्भर यो देशको अर्थतन्त्रको लागि दुर्दशा हो । यसको समाधान अल्पकालमा कठिन छ तर नीति, प्रणाली र सरकारको तदर्थ निर्णयले विस्तारै यसमा सुधार आउने देखिन्छ । ६० प्रतिशतभन्दा बढी कृषिमा निर्भर रहेको मुलुकमा कृषिलाई नै उपेक्षा गरिनु वास्तविक किसानको पेशामा आघात पुग्नु हो । 

अवका दिनमा कृषि प्रधान मुलुक भन्दै अनुदान सहयोग लिने माध्यको रुपमा मात्र कृषिलाई प्रयोग गरिनु हुँदैन । बार्षिक बजेटमा विनियोजित कृषि बजेट कृषकको खेतबारीमा समयमै पुग्नु पर्छ । विचौलिया र वास्तविक किसान पहिचान गरी वास्तविक किसानले यसको प्रतिफल प्राप्त गर्ने वातावरण सरकारले निर्माण गर्नु पर्दछ । किसान मरे जनता मर्छन, जनता मरे राज्य मर्छ ।