२२ बैशाख, २०८१ शनिबार

04:54:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ करोडको लगानीमा निर्मित वायु उर्जा अलपत्र

११ फागुन, २०७८

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक प्रतिवेदन अनुसार नेपालमा ३००० मेगावाट विद्युत हावाबाट उत्पादन गर्न सकिन्छ ।

१ करोडको लगानीमा निर्मित वायु उर्जा अलपत्र

पर्वत
पर्वत जिल्लाको दुर्गम गाउँमा विद्युतको माग पुरा गर्नको लागि निर्मित १२ किलोवाटको वायु उर्जा विगत १५ वर्षदेखि अलपत्र परेको छ । महाशिला गाउँपालिका–६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वायु ऊर्जा) मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । विसं २०६० मा स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय–समयमा मर्मतसम्भार अभावमा अलपत्र अवस्थामा गुज्रिएको छ । वायु उर्जाबाट उत्पादन त भएको छैन तर जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयवासीले मर्मत गर्नका लागि माग गरेका छन् ।

दिन प्रति दिन बढ्दै गएको विद्युतको मागलाई पूर्ति गर्नका लागि स्थानीय बासिन्दाले वायु ऊर्जा मर्मतका लागि माग गरेका हुन । विसं २०६३ मा सो केन्द्र नै बन्द भएको थियो । टिटीबिजी नामक संस्थाले १ करोडभन्दा बढीको लगानीमा वायु ऊर्जा आयोजान निर्माण गरेको थियो । तर संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको १ वर्षमै बन्द भएपछि अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीयहरुले बताउँदै आएका छन्। 

समुद्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाडाँमा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । फलामखानी, भँगरालगायतका सयौँ घरधुरीले विद्युत उपभोग गर्दै आएका थिए ।

 हाल त्यसै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने जनाइएको छ । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सम्बन्धित पालिका तथा ऊर्जा मन्त्रालयलगायतसँग माग गरिएको छ । 

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक प्रतिवेदन अनुसार नेपालमा ३००० मेगावाट विद्युत हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । वायु ऊर्जा आयोजना पुनःनिर्माण गर्न सकेमा फलमखानी करिब ४ सय  घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासीको भनाइ छ ।

महाशिला गाउँपालिकाले वायु ऊर्जा आयोजनालाई व्यवस्थापन गर्ने योजना बनाएको छ । यसका बारेमा अध्ययन गरी पुनः सञ्चालन गर्ने वा त्यहाँ भएका उपकरणहरूको व्यवस्थापनबारे निर्णय गरिने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो ।