२२ बैशाख, २०८१ शनिबार

06:15:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुन्द्रुक उत्पादनबाट जीविकोपार्जन, प्रतिकिलो मूल्य कति ?

९ फागुन, २०७८

गुन्द्रुक उत्पादनबाट जीविकोपार्जन, प्रतिकिलो मूल्य कति ?

पाल्पा
पछिल्ला दिनहरुमा गुन्द्रुक उत्पादन प्रति महिलाहरुको आकर्षण बढिरहेको छ । बजारमा गुन्द्रुकको माग बढेपछि तानसेनका महिलाहरुले गुन्द्रुक उत्पादनबाट आकर्षक आम्दानी गर्न थालेका छन् ।

तानसेन नगरपालिका छापका झण्डै २५ घरपरिवार गुन्द्रुक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् । मुलाको सागबाट तयार गरिएको गुन्द्रुक मासिक दुई तीन पटक बजार लगेर बिक्री गर्दै आएका छन् । यसरी बेचिएको गुन्द्रुकबाट झण्डै एक पटकमा  ५÷७ हजार आम्दानी भैरहेको उहाँहरुले बताउनु भएको छ । 

प्रतिकिलो  ४०० मा गुन्द्रुक बिक्री हुन्छ । मेहनत अनुसार मूल्य पाएपछि यहाँका महिला पछिल्ला वर्ष गुन्द्रुक उत्पादन गर्न व्यस्त बनेका हुन । गुन्द्रुक रायो, तोरी, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो । यसलाई नेपालको वा नेपालीको विषेश खानाका रुपमा लिइन्छ । 

नेपाली मौलिक परिकार गुन्द्रुक सागबाट बनाइने तरकारी हो । पहाडी जिल्ला पाल्पामा चिसो बढेसँग गुन्द्रुकको परिकार खाने चलन छ । सहर तथा ग्रामीण क्षेत्रमा चिसो मौसममा गुन्द्रुकको माग बढदो छ । गुन्द्रुकको  माग बढेसँगै यहाँका ग्रामीण क्षेत्रमा यसको उत्पादन गरी आम्दानीको स्रोत बनाउन थालेको पाइन्छ । 

छापकै डिलबहादुर रानाले घरको छतमा गुन्द्रुक (सिन्की) सुकाइरहनुभएको छ । बारीमा उत्पादित मुलालाई उखलेर राम्रोसँग धोइपखाली गरी दुईतीन दिन घाममा सुकाइन्छ । घाममा सुकेको मुलालाई ढिकीमा कुटेर मसिनो बनाइन्छ । यसरी मसिनो बनाएको मुलाको सागलाई प्लास्टिक वा माटाको भाडामा मलखादमा पुरी बफाउने गरिन्छ । मलखादबाट निकालेर घाममा सुकाएको सागलाई नै तरिकारीको परिकारका रुपमा खाने चलन रहेको उहाँले बताउनुभयो । 

बजारी क्षेत्रका मानिसले सागलाई कुटेर प्लास्टिकका भाडामा घाममा सुकाउने चलनसमेत रहेको बताइन्छ । पहिला ग्रामीण क्षेत्रमा उत्पादित गुन्द्रुक अहिले सहरी क्षेत्रमासमेत यसको माग छ । सहरका ठूला होटलमा गुन्द्रुकको झोल र अचारको खपत बढ्दो छ । नेपाली पहिचान बोकेको गुन्द्रुक उत्पादनमा कमी हुँदा चीनबाटसमेत यसको आर्यात हुँदै आएको छ ।