१० मंसिर, २०८१ सोमबार

09:32:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

७२ औं प्रजातन्त्र दिवस, सबै उपलब्धी क्रान्तिको जगमा प्राप्त भएका हुन् : प्रम देउवा

Nepal Business

७ फागुन, २०७८

प्रधानमन्त्री देउवाले ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हक अधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको बताउनुभएको छ ।

७२ औं प्रजातन्त्र दिवस, सबै उपलब्धी क्रान्तिको जगमा प्राप्त भएका हुन् : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हक अधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको बताउनुभएको छ । यसलाई अब सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गर्नुभएको छ । 

विसं २००७ मा भएको प्रजातन्त्र प्राप्तिको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति रहेको भन्दै प्रधानमन्त्री देउवाले यसैको जगमा त्यसपछि विभिन्न क्रान्तिहरू सम्पन्न भई आज लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेको उल्लेख छ । 

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गर्नुभएको छ । 

देउवाले दिएको शुभकामनामा प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्ति र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने शहीद, अग्रज नेता तथा कार्यकर्ता सबैमा सम्मान व्यक्त गर्दै सम्पूर्णमा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरिएको छ ।