३ जेठ, २०८१ बिहिबार

08:33:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई स्वतन्त्र रुपमा काम गर्न अर्थमन्त्री शर्माको आग्रह

Nepal Business

६ फागुन, २०७८

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई स्वतन्त्र रुपमा काम गर्न अर्थमन्त्री शर्माको आग्रह

काठमाण्डौं

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई आग्रह गर्नुभएको छ । शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउनुहुँदै उहाँले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गर्नुभएको हो ।

‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भन्नुभयो, ‘तपाईँ यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । तपाईँले स्वतन्त्र रूपमा काम गर्नुहुनेछ ।’ उहाँले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।

नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताउनुभयो । त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्नुहुँदै निरन्तर सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना सेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो । हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त हमालले यसअघि नेपाल विद्युत प्राविधिकरणमा ९ वर्ष कार्य गर्नुभएको थियो । त्यस्तै उहाँसँग विभिन्न संस्था तथा कम्पनीहरूमा नेतृत्वको गरेको अनुभव छ ।