४ जेठ, २०८१ शुक्रबार

12:20:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रगतका लागि पैसा तिनुपर्ने बाध्यता गण्डकीमा अन्त्य

Nepal Business

१ फागुन, २०७८

रगतका लागि पैसा तिनुपर्ने बाध्यता गण्डकीमा अन्त्य

१ फागुन।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिरामीका आफन्तले उपचारका क्रममा आवश्यक रगतका लागि पैसा तिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । 

निःशुल्क रक्तसञ्चार सेवा शुभारम्भ कार्यक्रममा उहाँले निःशुल्क रक्तसञ्चार सेवाको सुरुआत हुने समग्र गण्डकी प्रदेशसवासी र सरकारका लागि एउटा कोसेढुङ्गाका रूपमा भविष्यमा स्थापित हुने उल्लेख गर्नुभयो । 

स्वास्थ्य मन्त्रालयको आयोजनामा आज पोखरामा प्रदेश स्वास्थ्य नीतिको सार्वजनिकीकरण तथा निःशुल्क रक्तसञ्चार सेवा शुभारम्भ कार्यक्रममा उहाँले निःशुल्क रक्तसञ्चार सेवाको सुरुआत हुने समग्र गण्डकी प्रदेशसवासी र सरकारका लागि एउटा कोसेढुङ्गाका रूपमा भविष्यमा स्थापित हुने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “यस प्रदेशभरि विविध कारणले सेवा शुल्कका नाममा रगतका लागि पैसा दिनुपर्ने नागरिकको बाध्यता आजका मितिदेखि समाप्त भएको छ । हाम्रा लागि यो खुसीको कुरा हो ।”

सो अवसरमा मुख्यमन्त्री पोखरेलले वर्तमान संविधानअनुसार नागरिकको स्वास्थ्य अधिकार सरकारको जिम्मामा रहेकाले सरकार कार्यान्वयन गर्न संवेदनशील रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको संविधानले स्वास्थ्य सरकारको जिम्मामा छ । अन्य मौलिक अधिकारसहित स्वस्थ जीवन र स्वास्थ्यमा उपचारमा पहुँच अधिकारका रूपमा स्थापित छ, सोको कार्यान्वयनका लागि प्रदेश सरकार आफ्नो क्षमता, हैसियतका आधारमा जनताका बीचमा सेवा लिएर जान चाहन्छौँ । मानव स्वास्थ्यका सवालमा सरकार संवेदशील छ ।”

मानव स्वास्थ्य र जनताको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको उहाँको भनाइ छ । सरकारको नीति तथा कार्यक्रमअनुसार मन्त्रालयले मेहनत गरेर स्वास्थ्य नीति बनाएर सार्वजनिक गरेकामा मुख्यमन्त्रीले खुसी व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री पोखरेलले आफू नेतृत्वको सरकारले प्रदेशका दिदीबहिनी र आमाको पाठेघर र स्तन क्यान्सरको खर्च सरकारले बेहोर्ने पहिलो निर्णय गरेको भन्दै उहाँले सोको कार्यान्वयनका काम अघि बढाउनसमेत मन्त्रालयलाई आग्रह गर्नुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीले सङ्घीयताको मर्मअनुसार नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै स्वास्थ्य उपचारमा व्यक्तिको लागत घटाउने उद्देश्यले निःशुल्क रक्तसेवा सुरु गरिएको बताउनुभयो । 

स्वास्थ्य नीतिमा निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको पहुँच बढाइने उल्लेख रहेकाले सोको कार्यान्वयन सुरु गरिएको मन्त्री अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा प्रवाहका क्रममा रगतको आवश्यकता पर्ने बिरामी तथा दुर्घटनाका कारण रगत दिनुपर्ने व्यक्तिले आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा अब रगत निःशुल्क पाउनेछन् । यसबाट बिरामीको जीवन जोखिममा पर्ने अवस्था अन्त्य भई जनताको जीवन रक्षा गर्न सहयोग पुग्नेछ । निम्न आयस्तर भएका नागरिकलाई फाइदासमेत हुनेछ ।”