२४ बैशाख, २०८१ सोमबार

01:59:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फेरियो जनकपुरको परिचय, उज्यालो जनकपुर अभियानले नगरक्षेत्र झिलीमिली

Nepal Business

२७ माघ, २०७८

फेरियो जनकपुरको परिचय, उज्यालो जनकपुर अभियानले नगरक्षेत्र झिलीमिली

जनकपुर । 
केही समयअघिसम्म समसाँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सडक यतिबेला साँझ परेपछि हेर्न लाएक हुन्छन् ।  जनकपुरधाम उपमहानगरपालिकाले उज्यालो नगर बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका खम्बाखम्बामा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि जनकपुरधाम नगरक्षेत्र झिलीमिली बनेको हो ।

“केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अध्याँरो हुने र हिँड्डुल गर्न नसक्ने स्थिति थियो”, जनकपुरधाम उपमहानगरपालिका–१ का रोशन महतोले भन्नुभयो “तर अहिले रातिका समयमा जतिबेला पनि नगरक्षेत्रका सडक उज्यालो हुन्छ, जसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ ।
“पहिलापहिला सडक छेउका अधिकांश खम्बामा बत्ती थिएन्”, जनकपुरधाम उपमहानगरपालिका–४ का सहदेव साहले अहिलेको अनुभव सुनाउँदै भन्नुभयोे, “जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएन, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ पनि हिँडडुल गर्न समस्या भइरहेको थियो ।” अब अहिले निर्धक्क भएर २४ सैँ घण्टा सडकमा हिँड्दा कुनै समस्या छैन ।

“विगतका वर्षमा साँझ र रातिका समयमा सडक अध्याँरो हुँदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको थियो”, उँहाले भन्नुभयो, “अहिले नगरक्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत ह्वातै कमी आएको छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौं । उपमहानगरपालिकाले एकपछि अर्को लोकप्रिय योजना ल्याएर कार्यान्वयन गर्ने गरेकाले छोटो समयमै जनकपुरधाम उपमहानगरपालिकाले मुहार फेर्न लागेको स्थानीयवासी बताउँछन् ।

उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७÷०७८ देखि उज्यालो जनकपुरधाम अभियानअन्तर्गत सडक तथा गल्लीका खम्बामा बत्ती जडानलाई तीव्रता दिएको उपमहानगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण छोटो समयमै नगरक्षेत्रमा थुप्रै परिवर्तन ल्याउन सफल भएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताउनुभयो । रासस