८ मंसिर, २०८१ शनिबार
05:14:53 PM
२५ माघ, २०७८
काठमाडौं
प्रभु मनि ट्रान्सफरको कारोबार तीन वर्षदेखि लगातार घटेको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार २०२१ मा २२ प्रतिशतले कारोबार ओरालो लागेको छ । २०२० मा २० प्रतिशत र २०१९ मा २ प्रतिशतले कारोबार घटेको थियो ।
रेमिट्यान्स बजारमा चर्को प्रतिस्पर्धा र कोरोना महामारीले थप असर परेकाले कम्पनीको कारोबार घटेको जनाएको छ ।
केही वर्षयता रेमिट्यान्स बिजनेसमा वाणिज्य बैंक, वित्तीय संस्था र अन्य मनि ट्रान्सफर अपरेटरहरु थपिँदा प्रतिस्पर्धा बढेको छ । प्रभु मनि ट्रान्सफरको नेटवर्कमा ६ हजार बैंकिङ एजेन्ट, तीन हजार व्यक्तिगत एजेन्ट र करिब तीन हजार को(अपरेटिङ एजेन्ट जोडिएका छन ।
मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, यूएई, अमेरिका लगायतका देशहरुमा प्रभु मनि ट्रान्सफर लोकप्रिय बनिरहेको कम्पनीले जनाएको छ । सन् २०२१ को अन्तिममा कम्पनीको नेटवर्थ ३५ करोड २० लाख रुपैयाँ पुगेको छ । २०२१ मा कम्पनीले ६ करोड ६० लाख रुपैयाँ लाभांश भुक्तानी गरेको छ ।
कोरोना महामारीको असर केही कम हुँदै गएकाले रेमिट्यान्स उद्योग पनि सुधारको चरणमा रहेकाले वित्तीय अवस्थामा सुधार आउने अपेक्षा कम्पनीले गरेको छ ।