३ मंसिर, २०८१ सोमबार
03:43:16 AM
२५ माघ, २०७८
काठमाडौं
सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८/०७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब ९६ प्रतिशतले नाफा बढेको हो।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म इन्स्योरेन्सले २ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ सञ्चित छ।
इन्स्योरेन्सको बीमा कोषमा १२ करोड १८ लाख र महाविपत्ति कोषमा ९३ लाख ४५ हजार रुपैयाँ छ। पुस अन्त्यसम्म आइपुग्दा जगेडा कोष ७७ प्रतिशत, बीमा कोष ७०.४२ प्रतिशत र महाविपत्ति कोष २९.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सानिमा जनरल इन्स्योरेन्सले १४ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क कमाएको छ ।
पुसको अन्त्यसम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमाशुल्क ७३.२८ प्रतिशत बढेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको यही अवधिमा ८ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस अवधिसम्म कुल जारी बीमालेखको संख्या ४५ हजार ७ सय ५२ थियो। ५ हजार २ सय ८८ वटा मात्रै बीमालेख नवीकरण भएका छन्।इन्स्योरेन्सले ९ सय ७ वटा दाबीमा ९ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ। २ हजार २ सय २ वटा बीमालेख बापतको ४८ करोड ९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ३ पैसा रहेको छ ।