६ मंसिर, २०८१ बिहिबार

09:14:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गरिब हुनुको पीडा : काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

Nepal Business

१५ मंसिर, २०७८

“आफ्नो खेतबारी छैन । भएको थोरै खोरियामा दुई महिनालाई पुग्ने अन्न पनि फल्दैन । बाँकी समय हामी त भोकै हो । हामी गरिबलाई कसले हेर्छ र ”

गरिब हुनुको पीडा : काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

धादिङ, १५ मङ्सिर  ः बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् । 

खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन् । घरमा बस्ने अरु सबैको काम ज्यालामजदुरी नै हो ।  नत्र हातमुख जोर्ने अर्को कुनै विकल्प छैन भन्छन् कालीबहादुर । “आफ्नो खेतबारी छैन । भएको थोरै खोरियामा दुई महिनालाई पुग्ने अन्न पनि फल्दैन । बाँकी समय हामी त भोकै हो । हामी गरिबलाई कसले हेर्छ र ” उनको भनाइ छ ।

मैलो फाटेका केही पुराना लुगाको भरमा वर्षौं काटेका चेपाङ परिवारका बालबच्चा गाउँ नजिकै रहेको विद्यालयमा जाँदासमेत पुरानो लुगा र खाली खुट्टामा जाने गर्दछन् । कालीबहादुरको परिवारमात्र होइन, सिमथलीका चेपाङ समुदायको दुःख करिब उस्तै छ । घरमा खानेकुरा छैन । जाडो मौसममा आगोको भरमा रात काट्नुपर्छ भने विद्यालय जानेहरुले दिउँसोको खाजाको भरमा रात काट्नुपर्छ । 

सिमथलीमा रहेको प्रजा आधारभूत विद्यालयमा आउने विद्यार्थीहरुको अवस्था हेर्ने हो भने पनि उस्तै छ । अधिकांश विद्यार्थी भोकै विद्यालय आउँछन् । विद्यालय आएपछि खाजा बनाउने ठाउँ हेर्छन् र दिउँसोको खाजाको पर्खाइमा बस्छन् । अघिल्लो दिनको खाजाले भोक लागेका विद्यार्थी छट्पटिएर शौचालय जाने बहानामा खाजा बनाएको हेरेर कक्षामा फर्कने गरेको टिठलाग्दो दृश्य हरेक दिन देख्न सकिने विद्यालयका शिक्षक अप्सरा मैनालीले बताउनुभयो ।

गत वर्ष विद्यालयमा आउने विद्यार्थीको अवस्था नाजुक भएका कारण काठमाडौँका समाजसेवी राधा श्रेष्ठले संयोजन गरी कपडा र स्टेसनरी वितरण गरिएको थियो तर एक वर्ष भइसक्दा पनि उनीहरु त्यही पुरानो कपडा र फाटेको जुत्तामा विद्यालय जानु उनीहरुको दैनिकी भइसकेको छ ।

विद्यालय आउने तर घरमा अभिभावक नहुनेहरु झनै समस्यामा छन् । नियमित विद्यालय आउने छ वर्षीय डेप चेपाङ र आठ वर्षीय कमल चेपाङको आमाले घर छाडेर हिँडेको लामो समय भयो । बाबु घरमै आउँदैनन् । ज्याला गर्न गएर १०÷१५ दिनमा फर्किन्छन् । मामाघरमा हजुरआमासँग बसेका उनीहरुको हालत खराब छ । विद्यालयको खाजामा जीवन चलेको छ । लगाउने लुगा  छैन । जाडोको सिरेटोले काम्दै विद्यालयको दृश्य नरमाइलो किसिमको हुने गरेको शिक्षक मैनालीको भनाइ छ ।

प्रजा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये करिब २५ प्रतिशत हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने करिब ७५ प्रतिशत विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेका उहाँको भनाइ छ । घरमा खाने अन्न नभएका चेपाङ समूदायको बसोबास रहेको सिमथलीमा ७० घर छन् । छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानीसमेत छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीवासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँवासी ज्याला मजदूरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकाले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ ।

बबुलाई खोलाले बगाएर मृत्यु भएपछि कठिन सङ्घर्ष गरेर बाँचिरहेका ११ वर्षीया मनमायाँ चेपाङ र १४ वर्षीय सन्तोष चेपाङको अवस्था झनै कठिन छ । घरमा केही नभएपछि कठिन जीवन बिताइरहेको चेपाङ परिवारको कथा जस्तै लागे पनि यो वास्तविकता नयाँ स्थानीय सरकार बनेपछि पनि गरिबहरुले एक छाक खानसमेत उस्तै अवस्था छ । 

स्थानीय सरकार आएको चार वर्ष वितिसक्दा पनि अझैसम्म उनीहरुको आर्थिक अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन । रासस