१५ बैशाख, २०८१ शनिबार

11:22:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वमा क्रिप्टोकरेन्सीको उदय र बर्तमान अवस्था

१४ माघ, २०७८

काठमाण्डौं
केशव आचार्य

वर्तमान विश्व बजारमा जताततै क्रिप्टोकरेन्सीको चर्चा भैरहेको छ । बिटक्वाइन सन् २००९ देखि पहिलो क्रिप्टोकरेन्सीको रुपमा बजारमा आयो । बिटक्वाइनका संस्थापक जापानिज नागरिक सातोशी नाकामोतो हुन भनिएको छ तर उहाँको स्पष्ट परिचय भने आजसम्म खुलेको छैन । ल्याटिन अमेरिकी देश एल साल्भाडोरले  विश्वमा सबैभन्दा पहिले बिटक्वाइन नामक भर्चुअल मुद्रालाई मान्यता दिएको थियो । अहिले नेपाल, चीन, इराक, कतार, ओमन लगायतका धेरै देशहरुले अवैध भनेपनि कतिपय देशहरुले यसको कारोबारलाई मान्यता दिएका छन्। अहिलेसम्म विश्व बजारमा हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सीहरू अस्तित्वमा आएका छन । नयाँ नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम  पनि जारी नै छ । 

क्रिप्टोकरेन्सी भनेको भर्चुअल मुद्रा हो यसको अस्तित्व अनलाइनमा सीमित रहेको हुन्छ । भौतिक रुपमा यसलाई देख्न वा छुन सकिदैन तर यसको मूल्य भने तोकिएको हुन्छ । यस प्रकारको भर्चुअल मुद्राको नियमन निकाय वा केन्द्रीय बैंक हुदैन । यो कम्प्युटरहरुका राखिएको डिजिटल रेकर्डका आधारमा सञ्चालन हुन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत डिजिटल वालेटको प्रयोगगरी सरसमान किन्न र भुक्तानी गर्न सकिन्छ । अनलाइन मार्फत यसको कारोबार एकै ठाउँमा बसेर गर्न सकिने हुँदा मानिसहरुमा यसको कारोबार गर्ने चाहना बढेको हो । 
पछिल्ला दिनहरुमा भर्चुअल करेन्सीलाई जुवा भन्दापनि खतराको कारोबार मान्न थालिएको छ । छोटो अवधिमा अधिक कमाउने लोभले मानिसहरु यसमा आकर्षित हुने र पछि गुम्दै जाने खतरा बढ्दै गइरहेको पाइन्छ । यसको नियामक निकाय नहुने हुँदा गुमाउने गुमाको गुमाई हुने र सीमित चलाखहरुले कमाको कमाई हुने अवस्था रहने विज्ञहरु बताउनु हुन्छ । 
विश्वका कतिपय देशले यसलाई वैधानिकता दिएको कारण पनि एक प्रकारका वोद्धिक वर्गहरु यसमा लागेको पाइन्छ । यसको प्रभाव बुझ्न थालेपछि क्रिप्टोकरेन्सी कारोबार भैरहेका देशहरुले पनि यसलाई अवैधानिक घोषणा गर्दे आए । लगानी गरेर कारोबार गरिरहेका लगानीकर्ता फसिरहेका छन् । मौद्रिक विज्ञहरु यस्ता मुद्राहरुलाई मान्यता दिनु भनेको मुलुकको अर्थतन्त्रलाई क्षय गर्नु हो भनिरहेका छन् । आममानिस यसको अर्थ, प्रभाववारे नबुझिकन कमाई हुने आशाले लगानी गर्न तम्सिएको देखिन्छ । छोटो समयमा अधिक कमाई गर्ने अभिप्रायले गर्दा हल्लाको भरमा मानिसहरु यसको कारोबार गर्न आकर्षित भएका हुन् । 
 बिटक्वाइनको कारोबार बढ्ने र घट्ने स्पष्ट आधार देखिदैन । हुनत बजारको नियम अनुसार माग र आपूर्तिको आधारमा घट्बढ हुने हो तर यसमा कुनै आधारभूत सम्पती र नियन्त्रक निकाय नभएकोले घटबढको आधार एकिन गर्न सकिदैन ।  कुनै समय ह्वात्तै बढेको देखाउने र लगानीकर्तालाई आकर्षित गर्ने र कमाउने आशामा लगानीगर्नेहरु डुब्दै जाने गरेको  देखिन्छ । तसर्थ यो जुवा भन्दापनि ठूलो जुवा हो । जसमा विना अर्थ डुबाउनेको संख्या बढ्दै गइरहेको छ । 
अहिले विश्वका कतिपय मुलुकहरुमा बिटक्वाइन जस्ता धेरै भर्चुअल मुद्राहरु बजारमा आएका छन् । अनलाइनमार्फत यत्रतत्र कारोबार भैरहेका छन । कुनै नियन्त्रक निकाय नहुने हुँदा मनपरी कारोबार हुने गरेकोले यसले अर्थतन्त्रमा जोखिम ल्याउने मौद्रिक विज्ञहरु बताउनु हुन्छ । यस्तो कारोबारले वित्तीय अस्थिरता र मुद्रास्फिति बढाउने उहाँहरुको भनाई छ । 

क्रिप्टोकरेन्सीको कारोबार  गर्दा सर्वसाधारण ठगिने अवैधानिक रुपमा पैसा बाहिरिने हुँदा पूँजी पलायन हुन जान्छ  जसका कारण नेपालमा यसलाई अवैधानि घोषणा गरेको राष्ट्र बैंकले बताएको छ ।  अहिले क्रिप्टोकरेन्सीलाई हाम्रो कानूनले चिन्दैन, यो अवैध छ । यसरी वैधता नदिएको विषयमा लगानी गर्दा कानूनको अवज्ञा ठहर्छ । कारोबार गर्नेले कानून बमोजिम दण्डित हुनुपर्ने राष्ट्र बैंक स्रोत बताउँछ । नेपालमा केही मानिसहरुले सर्वसाधारणलाई प्रलोभनमा पारेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रेरित गरेको देखियो । यस्ता अवैध गतिविधिले आममानिसको बचत, लगानी र विदेशबाट आइरहेको रेमिट्यान्समा समेत प्रभाव पारिरहेको छ ।