१२ फागुन, २०८० शनिबार

01:30:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुराँसले बिस्तारै रङ्गिँदै वनपाखा

Nepal Business

१५ फागुन, २०७९

प्रायः भिरालो जमिनमा हुने यसको बोट होचो र झ्याम्म परेको हुन्छ । रातो, गुलाबी र सेतो रङहरूमा फुल्ने गुराँसका विभिन्न प्रजातिमध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइने गरेको बताइन्छ

गुराँसले बिस्तारै रङ्गिँदै वनपाखा

वसन्त ऋतुको आगमनसँगै पहाडी जिल्लाका वनपाखाहरू गुराँसले रङ्गीन थालेका छन् । गुराँस पाइने ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लाहरूमा गुराँस फुल्न सुरु भएसँगै यहाँका वनपाखाहरू रङ्गीन थालेका हुन् ।

यहाँका वनपाखामा कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर ढकमक्क भएको गुराँस देख्न थालिएको छ । ताप्लेजुङको सुकेटार, देउराली, पाथीभरालगायतका ठाउँमा गुराँस फुल्न थालेको छ । 

यहाँका वनपाखामा कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर ढकमक्क भएको गुराँस देख्न थालिएको छ । ताप्लेजुङको सुकेटार, देउराली, पाथीभरालगायतका ठाउँमा गुराँस फुल्न थालेको छ । 

ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थल अर्थात् गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा सामान्यतया फुल्न सुरु भएको छ । विगतका वर्षहरूको तुलनामा यो वर्ष यस क्षेत्रमा केही ढिला गरी गुराँस फुल्न थालेको स्थानीयवासी चन्द्र कार्कीले बताउनुभयो । मौसमी परिवर्तनका कारण पनि यो वर्ष ढिलो गरी गुराँस फुल्न सुरु भएको हुन सक्ने उहाँको बुझाइ छ । 

तापक्रम वा आर्द्रताको स्तरमा हुने परिवर्तनले पनि फुल्ने समय कहिले अघि र कहिले पछि हुने गर्छ । लामो समयसम्म पानी नपरेर मौसम सुक्खा हुँदा पनि गुराँस ढिलो फुल्ने गरेको पाइएको पाथीभरा क्षेत्रका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताउनुभयो । विशेषगरी माघदेखि नै फुल्न सुरु हुने गुराँस चैत, वैशाखमा भने पूर्णतया फक्रिसक्छ । गुराँस एक हजार पाँच सय मिटरदेखि तीन हजार छ सय मिटरको उचाइसम्म पाइन्छ । 

प्रायः भिरालो जमिनमा हुने यसको बोट होचो र झ्याम्म परेको हुन्छ । रातो, गुलाबी र सेतो रङहरूमा फुल्ने गुराँसका विभिन्न प्रजातिमध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइने गरेको बताइन्छ । नेपालको राष्ट्रिय फूलका रूपमा रहेको लाली गुराँस धार्मिक र सांस्कृतिकरूपमा पनि महत्त्वपूर्ण मानिन्छ । विद्याकी देवी सरस्वतीसँग सम्बन्धित मानिने फूललाई विभिन्न धार्मिक समारोह तथा चाडपर्वमा प्रयोग गर्ने गरेको पाइन्छ । 

यस्तै, गुराँसमा विभिन्न रोग निको पार्ने औषधीय गुणहरू समेत पाइन्छ । घाँटी दुख्दा वा घाँटीमा केही खाने कुरा अड्किएमा गुराँसको सेवनले फाइदा पुग्छ । कलेजो र मिर्गौलाको समस्या भएमा समेत यसले फाइदा पुग्ने गरेको बताइन्छ । श्वासप्रश्वासको सङ्क्रमण, छालाका रोगहरूलाई पनि गुराँसको सेवनले कम गर्छ । 

थरीथरी रङमा फुल्ने गुराँसको धार्मिक, सांस्कृतिक र आयुर्वेदिक औषधीय गुणका हिसाबले जति महत्त्व छ उति नै पर्यटन प्रवर्द्धनमा समेत यसको महत्त्व रहेको देखिन्छ । जब गुराँसे वनहरूमा गुराँस ढकमक्क भएर देखिन्छन् तब आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनसँगै चहलपहल सुरु हुन्छ । गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले क्षेत्रमा मात्रै वार्षिक बाह्य तथा आन्तरिक गरी हजारौँको सङ्ख्यामा पर्यटकहरू पुग्ने गरेका छन् । गुराँसको सौन्दर्यसँग रम्न र रमाउन चाहनेहरूको निकै चहलपहल हुने स्थानीय होटल व्यवसायीहरू बताउँछन् । 

एकै ठाउँमा धेरै प्रजातिका गुराँस पाइने भएकाले पनि यस क्षेत्रमा गुराँसको अवलोकन गर्न पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको हो । यसबाट स्थानीय व्यवसायीको आम्दानीमा समेत सघाउ पु¥याउँछ । गुराँसको राजधानीदेखि अन्यत्रका ठाउँहरूमा पनि गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकहरूको चहलपहल हुने गरेको छ । 

गुराँस विभिन्न दृष्टिले महत्त्वपूर्ण भएपछि यसको संरक्षण नहुँदा भने मासिँदै पनि गएको छ । यसको संरक्षण गर्ने दायित्व सबैको भए पनि संरक्षणमा कसैबाट चासो नहुने गरेको सुकेटारका होटल व्यवसायी तथा समाजसेवी ओमप्रकाश राईले बताउनुभयो । 

जथाभावी सडक विस्तारसहितका भौतिक संरचनाको निर्माणलगायतले गुराँसका वनहरू मासिन थालेको उहाँको बुझाइ छ । उपयुक्त भूगोल हेरेर गुराँसको विस्तार गर्नाका साथै यसको संरक्षणमा सबै पक्षले ध्यान दिन आवश्यक रहेको राईले बताउनुभयो । विभिन्न दृष्टिकोणले गुराँसको महत्त्व उच्च रहे पनि यसको संरक्षण र विस्तारमा कसैको ध्यान नदेखिएको सरोकारवालाले बताउने गरेका छन् ।