१४ बैशाख, २०८१ शुक्रबार

06:19:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम आजदेखि जम्मा गर्न सकिने

४ असोज, २०७९

त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम आजदेखि जम्मा गर्न सकिने

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयर बापतको बाँकी रकम आज (असोज ४ गते मंगलबार) बाट संकलन सुरु गरेको छ ।

माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीले भदौ २८ गते नै एक सूचना प्रकाशित गर्दै बाँकी रकम बुझाउन सेयरधनीहरुलाई आग्रह गरेको थियो ।

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको यस आयोजनाले २०७५ सालमै प्रतिकित्ता १० रुपैयाँ संकलन गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निष्कासन गरी प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्नेछ ।

कम्पनीले सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गर्नेछ।

रकम बुझाउन कम्पनीले कात्तिक १७ गतेसम्मको समय तोकेको छ। कार्यविधिअनुसार रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले वार्षिक ८ प्रतिशत ब्याज दिनुपर्ने प्रावधान रहेकोले सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँमात्र जम्मा गरे पुग्नेछ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन (आवेदन दिन) सक्नेछन् । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।