८ जेठ, २०८१ मंगलबार

02:17:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अप्रेसन गरेकी सुत्केरीआमा र नवजात शिशुको मृत्यु

९ माघ, २०७८

अप्रेसन गरेकी सुत्केरीआमा र नवजात शिशुको मृत्यु

हुम्ला । 
जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशुको मृत्यु भएको छ ।  सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ मृत्यु भएको हो । अस्पतालका अनुसार उनको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । 
टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको थियो । यसपछि शल्याक्रिया गरेर बच्चा जन्माइएको थियो ।  शल्यक्रिया गरेको दुई दिनसम्म टीका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको भए पनि उनीको सोही राति नै मृत्यु भएको अस्पतालले जनाएको छ । जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटीला माइत भएकी टीकाले एक वर्ष अगाडि हुम्लामा विवाह गर्नुभएको थियो । माइती पक्षले टीकाको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै राखिएको छ । माइती पक्षले के–कति कारणले आफ्नो छोरीको मृत्यु भएको हो जानकारी नहुँदासम्म शव उठाउन नदिएपछि टीकाका परिवारले शव बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।  

 अस्पतालको प्रसूतिगृहमा शल्यक्रियाद्वारा बच्चा जन्माएका सुत्केरीको मृत्यु भएको भने यो पहिलोपटक हो । यहाँका महिलाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ । जिल्लामा स्वास्थ्यकर्मी नियमित नबस्नु, औषधि उपकरणलगायतको अभावले ज्यान गुमाउने गरेका हो । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । यस्तै गत पुस ३० गते जिल्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका वडा ६ का गौगरा छत्यालको सुत्केरी भएको पाँच मिनेटपछि मृत्यु भएको थियो । रासस